ताप्लेजुङ । विश्व वन्यजन्तु कोषले दुर्लभ घोषणा गरेको रेडपान्डा (हाब्रे) पाइने क्षेत्रका जंगलमा ताप्लेजुङका सामुदायिक वनले मानब प्रवेश निषेध गरेका छन् । साउनदेखि असोजसम्म रेडपाण्डाको प्रजनन् समय भएकोले जंगलमा पस्न र घाँस दाउरासमेत रोक लगाइएको हो ।
रेडपान्डाले बच्चा हुर्काउने समय भएकोले जंगलमा होहल्ला भएमा माउले बच्चा छोडेर हिँड्ने खतरा हुँदा कडाइ गरेको पाथीभरा क्षेत्रको देउराली भित्री सामुदायिक वनका अध्यक्ष क्रिक्या शेर्पाले बताए । रेडपान्डाले अशान्त माहोलबाट बच्चा जोगाउन अन्यत्रै लिएर हिँड्ने गरेको छ ।
जेठ अन्तिमदेखि साउनभर रेडपान्डाले बच्चा जन्माउँछ । त्यसपछिका २ महिना नियमित हेरचाह गरेर हुर्काउँछ । त्यसैले यो अवधिलाई विशेष महत्वका साथ हेरिने रेडपान्डा सम्बन्धी काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए ।
सामान्यतया १३५ दिनको गर्भधारणपछि बच्चा जन्माउने रेडपान्डाले पुसदेखि फागुनसम्म गर्भधारण गर्छ भने ठूलो रुखको प्वाल खोजेर बच्चा जन्माउने र हुर्काउने ठाउँ बनाउँछ । रेडपान्डा नेटवर्कका कार्यक्रम संयोजक वाङचु भोटियाका अनुसार तीन महिना मात्रै राम्रो वातावरण पाए बच्चा सहजै हुर्कन्छ ।
संरक्षणविद् प्रल्हाद योञ्जनले सन् १९८९ मा लाङटाङ राष्ट्रिय निकुञ्जमा गरेको अध्ययनअनुसार ८६ प्रतिशत रेडपान्डाको बच्चा अवस्थामै मृत्यु हुने गरेको छ । यो रेडपान्डाको संख्या विस्तारमा गम्भीर चुनौती रहेको संरक्षणविद्हरू बताउँछन् ।
मालीङ्गाको टुसा, टेङ्गाको दाना, भालुचिण्डेजस्ता बस्तु खाएर बाँच्ने रेडपाण्डाले गुँड बनाउँदा आफूले खाने आहारालाई पनि ध्यान दिएको हुन्छ । यो बेला प्राकृतिक रूपले सबै आहारा पाउने समय भएकाले बाँच्नै समस्या भने हुँदैन ।
जिल्लाका १४ सामुदायिक वनमा रेडपान्डा पाइने सर्भेक्षणले देखाएको छ । ताप्लेजुङमा १ सयभन्दा बढी संख्यामा रेडपान्डा रहेको अनुमान गरिएको मञ्चको तथ्यांक छ । रेडपान्डा मुलुकका ताप्लेजुङ, पाँचथर र इलामका वनहरूमा करिब ३ सयको हाराहारीमा रहेको अनुमान छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।