विराटनगर । विराटनगरकै सबैभन्दा व्यस्त मध्येको एक मानिने हिमालय रोडलाई सौन्दर्यकरणका नाममा साँघुर्याइएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला महानगरले भने अझै लगानी थपेको छ । व्यस्त सडकलाई सौन्दर्यकरणका नाममा बिगारिएको भन्दै जनस्तरबाट तीव्र विरोध जारी छ ।
विराटनगर महानगरपालिकाले विराटनगर ९ स्थित हिमालय रोड सौन्दर्यकरण आयोजनामा लगानी वृद्धि गरेको छ । गतवर्ष असोज १३ गते सम्झौता भएको आयोजनाको स्टिमेट परिवर्तन भएको भन्दै महानगरपालिकाले झण्डै २० लाख रुपैयाँ लगानी बढाउने निर्णय गरेको हो ।भारतको सिक्किमस्थित एमजी रोडको नक्कल गरेर अगाडि सारिएको अवधारणा अनुरुप हिमालय रोडलाई ‘भेहिकल फ्रि रोड’ बनाउने भन्दै सौन्दर्यकरणको निर्णय गरिएको थियो । महानगरले त्यस आयोजनाका लागि १ करोड ८३ हजार रुपैयाँमा ठेक्का लगाएको थियो ।
स्थानीयबासी तथा नगरबासीहरुले सहरको व्यस्त रहने र अरु थुप्रै सडकसँग लिंक भएको सडकलाई भेहिकल फ्रि रोड बनाउने आयोजनाप्रति नै असहमति राख्दै आएका छन् । निर्माणाधीन आयोजनाको विरोध भइरहेको र सरोकारवालाहरुले हिमालय रोडलाई पुरानै अवस्थामा सञ्चालन गर्नुपर्ने माग गर्दै दबाब दिइरहेको बेला महानगरले आयोजनामा लगानी थप्ने निर्णय गरेको हो । ‘यो महानगरको नेतृत्वले गरेको सबैभन्दा ठूलो भुल हो’, विराटनगरका स्थानीयबासी धर्मेन्द्र साहले भने ‘हेर्ने, घुम्ने ठाउँ नै बनाउने भए खुला ठाउँ खोजेर पार्क बनाउनु, यो मध्य सहरमा के गरेको बुझ्नै सकिएन ।’
नयाँ निर्णयसँगै हिमालय रोड सौन्दर्यकरण आयोजनाको लागत १ करोड २० लाख ४८ हजार २७३ रुपैयाँ पुगेको छ । हिमालय रोड सौन्दर्यकरणको काम कला बिल्डर्सले गर्दै आएको छ ।महानगरको साउन १ गते बसेको कार्यपालिका बैठकले हिमालय रोड निर्माणको लागत अनुमान वृद्धिको भेरिएसन स्वीकृत गर्ने निर्णय गरेको हो ।
हिमालय रोड सौन्दर्यकरण गर्दा स्टिमेटमा ५० एमएमको इन्टरलक ब्लक प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको थियो । सोही अनुसार ठेक्का सम्झौता भएपनि प्राविधिकको तर्फबाट ५० एमएमको साटो ८० एमएमको ब्लक प्रयोग गर्नुपर्ने गरी स्टिमेट परिवर्तन गरिएका कारण झण्डै २० प्रतिशत लागत बढ्न पुगेको छ । त्यसबाहेक ट्रास रक र विद्युतीय कार्यमा केही छुटपुट बाँकी कामलाई समावेस गरेर लागत स्टिमेट परिवर्तन गरिएको थियो ।
आयोजना भेरिएसन गर्नुपर्ने प्राविधिकको प्रस्तावलाई महानगरले स्वीकृत गरेको महानगरका प्रमुख नागेश कोइरालाले बताएका छन् । ‘निर्माण भइसकेको योजना छ, सरोकारवालाहरुले उठाएको कुरा सुनेर अहिले म के नै गर्न सक्छु र ?’, प्रमुख कोइरालाले भने ‘थोरै डिजाइन परिवर्तन भयो, त्यहाँ प्रयोग हुने ढुंगाको मोटाइ परिवर्तन हुँदा लागत थोरै बढेको हो तर यो १ करोड २० लाखमा सम्पन्न हुने आयोजना भएकोले त्यति धेरै अन्यथा मान्नु पर्ने अवस्था छैन ।’
सडक सौन्दर्यकरण गरेर सहरलाई राम्रो बनाउने योजना भएको र एमजी रोडको जस्तो ठूलो लगानी नलाग्ने भएकोले त्यसमा धेरै चिन्ता गर्नु पर्ने अवस्था नरहेको प्रमुख कोइरालाको भनाइ छ । उनले स्थानीयसँग यस अघिनै महानगरले सहमति गरेर योजना अगाडि बढाएकोले त्यसलाई प्रभाव पर्ने गरी भूमिका नखेल्न उनले सबैलाई आग्रहसमेत गरेका छन् ।
हिमालय रोडलाई सवारीसाधन निषेधित सडकको रुपमा प्रयोग गर्दा समस्या हुने र उक्त आयोजना उपयुक्त स्थलमा नबनेको भन्दै विराटनगरका सामाजिक अभियन्ताहरु निरन्तर विरोधमा छन् ।

