विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतीय कार्गो रेल विराटनगरको एकीकृत भन्सार जाँच चौकीसम्म ल्याउने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन् । मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुलाई उद्योगीहरुले भारतीय पक्षसँग कुटनीतिक पहल गरिदिन आग्रह गरेका हुन् ।

मोरङ व्यापार संघमा मंगलबार आयोजित छलफल तथा भेटघाट कार्यक्रममा उद्योगीहरुले आइसिपीसम्म कार्गो आएमा ढुवानी सस्तो पर्ने र सहज हुने भन्दै यस विषयमा गम्भीर हुन आग्रह गरेका हुन् ।

संघका अध्यक्ष नविन रिजालले सरकारको बजेटका कारण समस्यामा परेका जिआईतार उत्पादन गर्ने, सेनेटरी प्याड उत्पादन गर्ने र तेल उत्पादन गर्ने उद्योगहरु बन्द हुने अवस्थामा पुगेको भन्दै समस्या समाधानका लागि पहल गर्नसमेत आग्रह गरेका थिए ।

कार्यक्रममा मन्त्री बडुले उद्योगीका मागप्रति सरकार सकारात्मक रहेको बताउदै छिट्टै समस्या समाधानको पहल हुने आवश्वासन दिएका थिए । उनले आयात प्रतिस्थापन गर्नु अनिवार्य रहेको भन्दै उत्पादनमा जोड दिन आग्रह गरे । उनले नेपाली रुग्ण उद्योगहरुको पुनसञ्चानका लागि सरकार गम्भीर रहेको पनि बताए ।

कार्यक्रममा उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदिप मुरारकाले कार्गाे रेल आए सरकारलाई दैनिक २० लाख रुपैयाँ फाइदा हुने दाबी गरे ।
नेपाल उद्योग परिसंघका अध्यक्ष भीम घिमिरेले बजेटमा देखिएका समस्या समाधान गर्नका आग्रह गरे ।

व्यापार संघका उपाध्यक्ष विकास बेगवानीले भारतले गहुँ निर्यातमा रोक लगाएपछि नेपालका मैदा मिलहरु समस्यामा परेको उनले बताए । उनीहरुले गहुँ आयात खुला गर्न भारतसँग पहल गरिदिन पनि आग्रह गरेका थिए ।