विराटनगर । प्रदेश १ सरकारले चारवटा सरकारी अस्पतालाई बिरामी बोक्ने सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरेको छ । सरकारले झापाको मेची अस्पताल, उदयपुर जिल्ला अस्पताल, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी र इनरुवा अस्पताललाई एम्बुलेन्स उपलब्ध गराएको हो ।
विराटनगरमा मंगलबार एक कार्यक्रम आयोजना गरी अस्पतालहरुलाई एम्बुलेन्स हस्तान्तरण गरिएको थियो । प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राई र स्वास्थ्य मन्त्री जयराम यादवले अस्पतालहरुलाई एम्बुलेन्स हस्तान्तर गरेका थिए ।
प्रदेश सरकारद्वारा हस्तान्तरित एम्बुलेन्समा २१ प्रकारका स्वास्थ्य उपकरणहरू जडान गरिएको, अत्याधुनिक सुविधा सम्पन्न छन् । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले सरकारले सुविधा सम्पन्न र आधुनिक एम्बुलेन्स हस्तान्तरण गरेको जानकारी दिए । ‘सरकारले वितरण गरेको एम्बुलेन्स ‘ख’ वर्गमा पर्दछ । रिफर गर्नुपर्ने विरामीलाई यो एम्बुलेन्समा राखेर अर्को अस्पतालसम्म लैजान आवश्यक पर्ने उपकरणहरू गरिएको छ,’ उनले भने ।
एम्बुलेन्सभित्र इसीजी, मनिटर, नभुलाइजर व्याग, सिपीआर बोर्ड, अक्सिजनलगायतका पकरणहरू जडान गरिएको उनले बताए । ‘सिकिस्त भएका बिरामीलाई थप उपचारको लागि अर्को सुविधा सम्पन्न अस्पतालमा लैजानुपर्ने अवस्थामा आएको खण्डमा यो एम्बुलेन्स प्रयोग गरेर बिरामीको ज्यान बचाउन प्रदेश सरकारले एम्बुलेन्स ल्याएको हो,’ उनले भने ।
कोभिड १९ को महामारीको बेला उपचार नपाउँदै बाटैमा बिरामीको मृत्यु हुने समस्या बढी भएको थियो । समयमा उपचार नपाउँदा बाटैमा बिरामीको ज्यान जाने घटनालाई न्यून गर्न आधुनिक र स्वास्थ्य उपकरण जडान गरिएको एम्बुलेन्स खरिद गरेर अस्पतालाई वितरण गरेको उनले बताए । भन्सार छुटमा आयात गरिएको एम्बुलेन्सको लागत ५९ लाख रुपैयाँ रहेको छ ।
प्रदेश सरकारले अरु पाँच वटा अस्पताललाई अर्को चरणमा एम्बुलेन्स हस्तान्तरण गर्ने सूचिमा राखेको जनाएको छ ।

