दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा बुधबार(आज) नगरसभा आयोजना हुँदैछ । एमाले अवरोधले तीन पटकसम्म बजेट पारित गर्न विफल नगरसभाले चौथो पटकमा बजेट पारित गर्ला ?
‘पारित नहुनुपर्ने कारण छैन’, दमककी उपमेयर रेगिना भट्टराई भन्छिन् ‘कार्यपालिकाको पछिल्लो बैठकमा सकारात्मक कुरा भएको छ ।’ उपमेयर भट्टराईले आशा प्रकट गरे पनि एमाले कुन रुपमा प्रस्तुत हुन्छ भन्नेमा दमकको नयाँ बजेट बुधबार पारित हुने–नहुने निर्भर हुनेछ ।
चुनावी हारजितको आक्रोश एमालेले चुनावपछि पनि देखाउँदा दमकमा अहिलेसम्म बजेट पारित हुन सकेको छैन । बहुसंख्यक स्थानीय सरकारले नयाँ आर्थिक वर्षको वार्षिक बजेट पारित गरेर कार्यान्वयनमा लगिसक्दा दमकमा भने नगरसभा नै अवरूद्ध छ ।
नयाँ आर्थिक वर्ष सुरू भएको दुई साता बित्न लाग्दासम्म पनि दमकमा नयाँ बजेट पारित हुन नसक्नुका पछि एमालेको अवरोध मुख्य कारण भएको छ । संविधानले कल्पना नै नगरेको नगरपालिकामा विपक्षीको संसदीय दल गठन गरेर दलका लागि कार्यालय मागेको एमालेले दलका नेताका लागि गाडी सुविधासमेत माग गरेको थियो ।
नगर प्रमुख राम थापाले संविधान र कानुनले कल्पना नै नगरेको संरचना र सुविधा नदिने भनेपछि एमालेले नगरसभा अवरुद्ध गर्दै आएको छ । एमाले अध्यक्ष ओलीको गृहनगरमा पहिलो पटक नगर प्रमुख र उपप्रमुख दुवै पदमा गैरएमाले निर्वाचित भएका छन् । त्यही रिस एमालेले नगर सभा अवरोध गरेर पोखिरहेको आरोप गठबन्धन दलहरुले लगाएका छन् ।
‘बुधबारका लागि चौथो पटक नगरसभा बोलाइएको छ’, उपप्रमुख भट्टराईले भनिन्, ‘अहिलेसम्म तीन पटकको नगरसभामा बजेट पारित हुनै सकेन । खासगरी एमालेका साथीहरूले बहुमतको दम्भ देखाएर हरेक सभामा अड्को थाप्नुभयो ।’
साउन ७ को कार्यपालिका बैठकमा एमाले पक्षका जनप्रतिनिधिले सकारात्मक कुरा गरेको जानकारी दिँदै उनले बजेट पारित हुने आशा प्रकट गरेकी छन् । मेयरमा राप्रपाका थापा र उपमेयरमा कांग्रेसकी भट्टराई निर्वाचित नगरमा बहुमत ४५ जना एमालेका छन् । त्यही बहुमतको आडमा एमालेले नगरसभामा प्रतिपक्षी मान्यतासहितको सुविधा मागेको र बजेट नीति तथा कार्यक्रम पारित गर्न नै अवरोध गरिरहेको अन्य दलहरूको आरोप छ ।
गएको असार १० गते एमालेकै बहुमत रहेको कार्यपालिकाबाट पारित भएर नगर सभामा पेश भएको बजेट अहिलेसम्म नयाँ–नयाँ बखेडा झिकेर एमालेले पास गर्न नदिएको गठबन्धनबाट निर्वाचित एक वडाध्यक्षले बताए । ‘सुरूमा नगरको प्रवक्ता र सबै विभागको नेतृत्व दाबी गरेको एमालेले अहिले संविधानविपरीत प्रतिपक्षी दलको मान्यता माग गरिरहेको छ’, ती वडाध्यक्षले भने ‘गाडी सुविधा माग्ने काम पनि भएको छ। त्यो नहुँदा उसले अवरोध जारी राखेको छ ।’
दमकमा ५८ जनप्रतिनिधि निर्वाचित छन् । जसमा ४५ जना एमालेका छन् भने बाँकी १३ जना गठबन्धनका छन् । तीमध्ये एमालेका विश्वनाथ बराल जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएका छन् । बजेट तथा नीति कार्यक्रम पारित गर्न भनेर आयोजित ११औँ नगर सभाको दोस्रो र तेस्रो बैठकमा एमालेका जनप्रतिनिधिले आफ्ना माग राखेर होहल्ला गरेपछि स्थगित भएको थियो । त्यसपछि ३ साउनमा अर्को बैठक बोलाइएको थियो । त्यो बैठकमा एमाले प्रतिनिधिहरु उपस्थित नै नभएपछि बैठक रोकिएको थियो । नगरसभाको अर्को बैठक बुधबारका लागि डाकिएको हो ।

