धरान । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले धरान उपमहानगरपालिकाबाट करारका कर्मचारीहरुलाई नहटाउन दबाब दिएका छन् ।

आफ्ना निवार्चित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुमार्फत मेयर हर्क साम्पाङ राईलाई करार कर्मचारी नहटाउन दबाब दिएको बताइएको छ ।

आइतबार एमाले, कांग्रेस र माओवादीबाट निर्वाचित वडाअध्यक्ष, कार्यपालिका सदस्यहरुले मेयर साम्पाङ र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेललाई भेटेर हाजिर हुन नदिइएका कर्मचारीहरुको करार नविकरण गर्न दबाब दिएका थिए ।

बहुमत कार्यपालिका सदस्यहरुले दबाब दिएपछि मेयर साम्पाङ र प्रमुख प्रशासकीय अधिकृतले केही करार कर्मचारीहरु हटाउने निर्णयमा पुनर्विचार गर्ने बताएका छन् ।मेयर साम्पाङका अनुसार लामो समयदेखि कार्यरत ८ जना ईञ्जिनियर तथा प्राविधिकतर्फका करार कर्मचारीहरुको भने करार अवधि थप्ने सहमति भएको छ । ती प्राविधिक कर्मचारीहरुमध्ये अधिकांश राजनीतिक नियुक्ति नभई परीक्षा दिएर प्रक्रिया अनुसार नै नियुक्त भएका थिए ।लोकसेवा आयोगले बारम्बर करारमा लामो समय कर्मचारी राख्न नमिल्ने भन्दै आपत्ति जनाएपछि नगरपालिकाले उनीहरुलाई पनि हटाउने प्रक्रिया सुरु गरेको थियो । मेयर साम्पाङका अनुसार ती ८ जना करार प्राविधिक कर्मचारीहरुलाई लोकसेवा आयोगबाट स्थायी कर्मचारी नआएसम्म करार अवधि थप गरिने भएको छ ।

मेयर साम्पाङले अन्य १० जना करार कर्मचारीहरुको हकमा भने करार नविकरण गर्ने सम्भावना छैन । अनावश्यक भर्ति भएकाहरुलाई हटाएर बेरुजु घटाउन खोजिरहेको उनले बताए ।

एमालेबाट निर्वाचित धरान १५ का वडाअध्यक्ष नरेश इवारमले भने असार २१ गते करार कर्मचारीहरुको म्याद नविकरण गर्ने कार्यपालिकाको निर्णय भएकोले उक्त निर्णय कार्यान्वयन हुनुपर्ने माग गरिएको बताएका छन् । सबै करार कर्मचरीहरुको नवीकरण गर्ने भनेर निर्णय भएको र नगरसभाबाट पनि बजेट विनियोजन गरिएकोले नविकरण हुनुपर्ने उनको भनाइ छ ।

कार्यपालिका प्रवक्ता एवं धरान १७ का वडाअध्यक्ष मनोज भट्टराईले पनि कार्यपालिका बैठकले नै करारका कर्मचारीहरुको अवधि एक वर्ष थप गर्ने निर्णय भएको हुनाले सोही निर्णय कार्यान्वयन हुनुपर्ने बताएका छन् ।