विराटनगर । नेपाल विद्युत् प्राधिकरण १ नम्बर प्रदेश कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब ४१ करोड नाफा गरेको छ ।
प्राधिकरणले आफ्ना ग्राहक संख्यामा पनि उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक वर्षमा मात्रै ५० हजार बढी ग्राहक थपिएका छन् । अब प्रदेश १ मा विद्युत् उपभोग गर्ने ग्राहकको संख्या ९ लाख ७ हजार हाराहारी पुगेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा भन्दा गत आर्थिक वर्षमा १ अर्ब ६५ करोड बराबरको १८ करोड ६२ लाख युनिट बिजुली विक्री भएको हो । जसकाकारण अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा १ अर्ब ६५ करोड धेरै महशुल उठेको छ । महशुल उठेको प्रतिशत भने ९६ प्रतिशत हो । प्राधिकरण प्रदेश १ कार्यालयले गत वर्ष मात्रै लगभग १ अर्ब ३९ करोड ६२ लाख युनिट विद्युत विक्री हुँदा १३ अर्ब हाराहारी महशुल संकलन गरेको जनाएको छ ।
प्राधिकरणको प्रदेश कार्यालयका प्रमुख राजन ढकालले दिएको जानकारी अनुसार प्रदेश १ मा चुहावटको दर पनि केही घटेको छ । अघिल्लो वर्ष १२ प्रतिशतले चुहावट हुँदा गत वर्षको चुहावट दर भने ११.७ प्रतिशतमा आइपुगेको छ । विद्युत् प्राधिकरणको समग्र देशभरमा चुहावट भने गत आर्थिक वर्षमा १५ प्रतिशत रहने अनुमानगरिएको छ । यसअघि यो दर साढे १६ प्रतिशत थियो ।
प्राधिकरणले आर्थिक वर्ष २०७८÷७९ मा समयमै महशुल नबुझाउने २८ हजार ५ सय ग्राहकको विद्युत लाइन काटेको छ । जसमध्ये २५ हजार १२२ जनाले पुनःलाइन जोड्दा ३९ करोड ८५ लाख महशुल बुझाएका छन् । सबैले लाइन जोड्दा भने ४३ करोड महशुल उठ्नुपर्ने थियो । यद्यपि ९२.८ प्रतिशत ग्राहकबाट महशुल उठेको छ ।
सबैभन्दा बढी लाइन काटिने जिल्ला इलाम छ । इलामका ३ हजार ३८० ग्राहकको लाइन काटेको प्राधिकरणको रेकर्ड छ । त्यसपछि मोरङको बेलबारी वितरण केन्द्र अन्तर्गतका २ हजार ४२८ ग्राहकको लाइन काटिएको छ । सबैभन्दा कम लाइन काटिने ग्राहकको संख्या भने ओखलढुंगा, पाँचथर, तेह्रथुम, भोजपुर जिल्लाहरुमा छ ।
प्रदेश १ मा झापा, मोरङ र सुनसरीका २८ उद्योगले वार्षिक ३ करोडभन्दा धेरै विद्युत महशुल तिर्ने गरेका छन् । यी सबै उद्योगहरुमा मात्रै २ अर्ब ५७ करोड ७१ लाख ८ हजार ४ सय २३ रुपैयाँको विद्युत् खपत हुने गरेको छ ।
सुनसरीको इनरुवा वितरण केन्द्रबाट श्री बाबा पेपर मिल्स, अरविन्द पेपर मिल, धरान वितरण केन्द्रबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २ वटा लाइन, इटहरी वितरण केन्द्रको रिलायन्स स्पिनिङ मिल र अरिहन्त अटो कन्फिगरेसन प्रा.लि., उदयपुरको उदयपुर सिमेन्ट उद्योगले पनि वार्षिक ३ करोड रुपैयाँभन्दा धेरै मूल्यको विद्युत् उपभोग गर्दछन् ।
विराटनगर वितरण केन्द्र अन्तर्गत आरती स्ट्रिप, रघुपति जुटमिल, शिभम् प्लाष्टिक, नोबेल मेडिकल कलेज, एमएस नेपाल अल्ट्रा टेक सिमेन्ट प्रा.लि., सप्तकोशीसिमेन्ट, हुलास वायर, स्वस्तीक आयल, प्रिमियर वायर, कमलारोलिङ मिल, नेपाल दुर संचार संस्थानपनि धेरै विद्युत् महशुल बुझाउने उद्योगहरु हुन् । झापाको धुलाबारीको सनराइन सिमेन्ट, धनकुटाको निगाले सिमेन्ट, दुहबी वितरण केन्द्र अन्तर्गतको पशुपति आइरन, स्वस्तीक रोलिङ, पशुपति सिनप्याक, अरिहन्त मल्टिफाइबर, प्रिमियर स्टिल, अरिहन्त पोलिप्याक लि., एसियन थाइ फुड्स र सनराइज पेपर मिल्स रहेका छन् ।
प्रदेश १ मै सबैभन्दा धेरै विद्युत् खपत गर्ने उद्योग भनेको इटहरी वितरण केन्द्र अन्तर्गत रहेको रिलायन्स स्पिनिङ मिल हो । उक्त मिलले मात्रै वार्षिक ५८ करोड २१ लाख ३३ हजार ३०३ रुपैयाँ बराबरको विद्युत् महशुल तिर्ने गरेको छ । यस्तै आरती स्ट्रिप्सले २४ करोड ७९ लाख, पशुपति आइरन एण्ड स्टिलले ३७ करोड ३४ लाख, स्वस्तिक रोलिङ मिलले १२ करोड २० लाख र उदयपुर सिमेन्ट उद्योगले १५ करोड ५६ लाख हाराहारी विद्युत् महशुल तिर्दै आएका छन् ।

