लोड हुँदैछ...

मेनु

गुणस्तरहिन खाद्यवस्तु उत्पादन गर्ने उद्योगविरुद्ध मुद्दा

गुणस्तरहिन खाद्यवस्तु उत्पादन गर्ने उद्योगविरुद्ध मुद्दा

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले न्यून गुणस्तरको खाद्यवस्तु उत्पादन गरि बिक्री वितरण गर्ने १६ वटा उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छ ।

उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै न्यून गुणस्तर उत्पादन गर्ने प्रदेश १ का तीन जिल्लाका १६ वटा उद्योगविरूद्ध मुद्दा दायर गरेको कार्यालयले जनाएको छ ।

न्यून गुणस्तरहिन खाद्यवस्तु उत्पादन गरि बिक्री वितरण गर्ने मोरङ, झापा र सुनसरीका १६ वटा उद्योग विरूद्ध मुद्दा दर्ता गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले जानकारी दिए । उद्योगले उत्पादन गर्ने खाद्यवस्तुको नमूना संकलन गरि ल्याब परीक्षणबाट गुणस्तरहिन र न्यून गुणस्तरहिन पुष्टि भएपछि अदालत र प्रशासन कार्यालयमा अभियोग दायर गर्दै आएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा नमूना संकलन गरेकामध्ये सबैभन्दा धेरै न्यून गुणस्तरको खाद्यवस्तु उत्पादन गरि उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने उद्योग मोरङमा भेटिएका छन् । मोरङका ९ उद्योगले उत्पादन गरेको खाद्यबस्तुको नमूना संकलन गरि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको ल्याबमा परीक्षण गर्दा न्यून गुणस्तरको खाद्य बस्तु भेटिएको रिपोर्ट आएपछि मुद्दा दर्ता भएको छ ।

झापाका पाँच र सुनसरीका दुई उद्योगविरुद्ध मुद्दा दर्ता भएको छ । ‘न्यून गुणस्तरको खाद्यवस्तु उत्पादन गरि बिक्री वितरण गर्ने उद्योगलाई प्रतिवादी बनाएर सम्बन्धित उद्योग रेहेको जिल्लाका अदालत र जिल्ला प्रशासन कार्यालयहरूमा मागदाबी लिएर अभियोग दर्ता गरिएको छ,’ रिजालले भने, ‘कुनै पनि मुद्दा निरूपण भने भएको छैन ।’

कार्यालयले विराटनगर –१४ मा रहेको बालाजी डेरी उद्योगले घ्यू न्यून गुणस्तरको उत्पादन गरेको पुष्टि भएपछि गत वर्षको भदौ २७ गते मोरङ अदालतमा ५० हजार रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजायको माग दाबी लिएर मुद्दा दायर गरेको छ । यस्तै विराटनगर ५ मा रहेको एक्वा एक्टिभ बेभरेजलाई ५० हजार रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजायको माग दाबी लिएर असोज ६ गते अभियोग दायर गरेको कार्यालय प्रमुख रिजालले बताए ।

विराटनगरस्थित सेन्ट्रल फुड एण्ड खाद्यान्न प्याकेजिङ्गले उत्पादन गर्ने पोस्ता दाना न्यून गुणस्तरको भेटिएपिछ ५० हजार जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजायको माग दाबी लिएर फागुन २५ गते मुद्दा दर्ता भएको छ । नेपाल बेलहोप एग्रिटेक प्रालिले उत्पादन गर्ने कुखुराको दाना दूषित पाइएप्छि जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको कार्यालयले जनाएको छ ।

विराटनगरको खेतान चिया उद्योगले उत्पादन गर्ने सिटिसी चिया न्यूनस्तरको भेटिएपछि ५० हजार रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजायको माग दाबी लिएर जेठ ९ गते अदालतमा मुद्दा दायर गरेको छ कार्यालयले गृहलक्ष्मी फुड इण्डष्टिजले सोया चड्क्समा लेबल नभएको पाइएपछि प्रशासन कार्यालयमा मुद्दा दायर गरेको छ ।

उता झापाको दमक ९ मा रहेको पञ्चकन्या फुड, बिर्तामोड ७ मा रहेको सोरुप फ्रेस नुडल्स, हिमालय फुड एण्ड स्नायक्स उद्योग, बुट्टाबारी टि प्रालि र नेपाल चिया विकास निगम लि.ले उत्पादन गरेको खाद्यबस्तु न्यून गुणस्तरको भेटिएपछि मुद्दा दायर गरेको छ । यस्तै सुनसरीको रामधुनी ५ मा रहेको कोशी फिड प्रालि र इटहरी १३ मा रहेको पूर्वाञ्चल एग्रीटेक प्रििलले उत्पादन गरेको दाना दूषित भेटिएपछि प्रशासन कार्यालयमा मुद्दा दायर गरेको छ ।

मुद्दा दायर गरेका मध्ये मोरङ विराटनगरको विराट गोल्छाले उत्पादन गर्ने घ्यू न्यून स्थरको उत्पादन गरेको कुसरमा मोरङ अदालतले दोषी ठहर गर्दै ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

थप २५ उद्योगविरूद्ध मुद्दाको तयारी

कार्यालयले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै गुणस्तरहिन उत्पादन बजारमा पठाउने दुई दर्जन बढी उद्योगलाई मुद्दा दर्ताको तयारी गरेको छ । न्यून गुणस्तरको र दूषित बस्तु उत्पादन गर्ने २५ वटा उद्योगविरूद्ध कसुर अनुसारको माग दाबी लिएर अभियोग लैजाने तयारीमा रहेको कार्यालयका प्रमुख रिजालले जानकारी दिए ।

मोरङका ९, सुनसरीका ३, झापाको १, धनकुटाको ६ र उदपयुरको उद्योगविरुद्ध मुद्दा दर्ताको तयारी छ । ती उद्योगहरूबाट उत्पादन भएको खाद्यवस्तुको नमूना संकलन गरि परीक्षण गर्दा गुणस्तरहिन पाइएको ल्याब रिपोर्ट आइसकेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय स्रोतले दिएको जानकारी अनुसार दूध तथा दुग्धजन्य पदार्थ, तेल, चिया कफी, चाउचाउ र खान्द्य उत्पादन गर्ने उद्योग विरूद्ध अभियोग लैजाने तयारी छ । विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको चार वटा डिभिजन कार्यालयहरूमार्फत पनि बजार अनुगमन, नमुना संकलन र परीक्षण तथा मुद्दा दर्ताको काम हुनेछ ।

सुनसरी, झापा, धनकुटा र उदयपुरमा खाद्यको डिभिजन कार्यालयहरू छन् । प्रदेशभरीबाट गत आर्थिक वर्षमा ६०९ वटा उद्योगहरूको नमूना संकलन गरि परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।