विराटनगर । भारतको वथनाहबाट मोरङको विराटनगरसम्म निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने सहमति भएको छ ।

उद्योग संगठन मोरङमा आइतबार भएको बैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एस.के. चौधरीले विराटनगरदेखि कार्गो रेल्वे अविलम्व सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मिरगंज पुलमा आएको अवरोधले गर्दा मालवाहक सवारीका साधन रिरुट गर्नुपरेकोले उद्योगीलाई थप आर्थिक व्ययभार परिरहेको गुनासो गरेका थिए । मालवाहक रेल्वे सञ्चालनले राहत दिने भन्दै उनले रेल्वे सञ्चालनबाट नेपाल–भारतबीचको व्यापार अभिवृद्धिमा मद्दत पुग्ने बताए ।

भारतीय रेल्वेका डिभिजनल रेल्वे मेनेजर एस.के.चौधरीले १८ दशमलव ६ किलोमिटर लम्वाई भएको वथनाह विराटनगर रेल्वेको काम अन्तिम चरणमा पुगेका बताउँदै नेपाल र भारत सरकारबीच प्राविधिक र प्रशासनिक प्रक्रिया पुरा हुनसाथ कार्गो रेल सञ्चालनमा ल्याउन सकिने बताए । उनले जोगवनीमा रेल्वे रिपेयरिङ सेन्टरको निर्माणका लागि भारतीय रेल्वे मन्त्रालयसमक्ष आवश्यक बजेटका लागि अनुरोध गरेको जानकारी दिए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले दुईदेशीय व्यापार विस्तारका लागि महत्वपूर्ण कार्गो रेल सञ्चालनमा ल्याउन महानगरपालिकाका तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले निर्माणको क्रममा देखिएका वाधाहरु समाधानमा मोरङ प्रशासनको तर्फबाट पूर्ण सहयोग रहने बताए ।

विराटनगर भन्सारका प्रमुख अधिकृत ताराप्रसाद सापकोटाले मिरगंज पुलका कारण आयात निर्यातमा समस्या आउदा राजश्व संकलनसमेत प्रभावित भएको जानकारी दिँदै कार्गो रेल सञ्चालनमा ल्याउन भन्सारको सहयोग रहने बताए । नेपालको रेल विभागका ईन्जिनियर रोशनकुमार देवले दुवै देशका प्राविधिक टोलिले निर्माणधिन परियोजनाको प्राविधिक पक्ष परिक्षण गरी अन्य प्रशासनिक प्रकृया पुरा गरे पश्चात विराटनगर वथनाह रेल संचालनमा ल्याउने तयारी भइहरेको जानकारी दिए ।

कार्यक्रममा उद्योग संगठनका वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका, पूर्वअध्यक्ष किशोर प्रधान, अशोक मुरारकासहितले जोगवनी रेल्वे यार्डमा पानी जम्नुका साथै नेपालको मालसमान रातमा अनलोड गर्न समस्या भईरहेको गुनासो राखेका थिए । संगठनका पूर्वउपाध्यक्ष राकेश सुरानाले नेपालबाट भारतको विभिन्न स्थानमा उपचार गराउन, अध्ययन गर्न र धार्मिक प्रयोजनका लागि जाने यात्रुहरुको संख्या अत्यधिक रहेकाले थप गन्तव्य पहिचान गरी नयाँ रेल थप्न भारतीय पक्षलाई सुझाब दिए ।