धरान । सुनसरीको धरानमा रहेको बराहा ऋण तथा बचत सहकारी संस्थाका पीडितहरूले धरान उपमहानगरपालिकामा घेराउ गरेका छन् ।
बराहा ग्रुपद्वारा सञ्चालित बराहा बचत तथा ऋण सहकारी संस्थामा आफूहरूले दुःख गरेर जम्मा गरेर बचत गरेर राखेको रकम सहकारीले रकम फिर्ता नदिएको भन्दै बचतकर्ताहरू आन्दोलित भएका हुन् । उनीहरूले आफ्नो पैसा पाउनुपर्ने भन्दै पटक–पटक बराहा सहकारीमा माग गर्दा पैसा फिर्ता नदिएपछि संघर्ष समिति बनाएर आन्दोलन नै गर्दै आइरहेका छन् ।
उनीहरूले यसभन्दा अघि धरान उपमहानगरपालिकाका मेयरलाई आफ्नो समस्या राखेर निवेदन दिएको भएपनि अहिलेसम्म कुनै प्रक्रिया अघि नबढेकोले पुनः नगरपालिका घेराउ गर्दै न्याय माग्न आएको पीडितहरूले बताए । उनीहरूले नाराबाजी गर्दै मेयर हर्क साम्पाङसँग पनि बराहाको सम्पूर्ण सम्पत्ति रोक्का गर्न माग गरेका छन् ।
मेयर साम्पाङले यो विषयमा अलिकति धैर्य गर्दै अघि बढ्न संघर्ष समितिलाई आग्रह गरे । उनले भने विधि र प्रक्रिया अनुसार धरान उपमहानगरपालिका र न्यायिक समिति अघि बढ्ने बताउँदै संयमता अपनाएर यो समस्याको समाधान खोज्नुपर्ने बताए ।
पीडित समितिले अविलम्ब छानबिन समितिको गठन हुनुपर्ने र सहकारी ऐन अन्तर्गत कारबाही गर्न मेयर साम्पाङलाई निवेदनसहित माग गरिएको समितिले जनाएको छ । धरान उपमहानगरपालिकाले पनि नियम अनुसार कारबाहीको प्रक्रिया अघि बढाउने बताइएको छ ।

