लोड हुँदैछ...

मेनु

जनतालाई विकाससँग जोड्दै धरानका मेयर

जनतालाई विकाससँग जोड्दै धरानका मेयर

धरान ।  एक्लो व्यक्ति निरन्तर एकै मुद्दामा लडिरहनु । त्यही संघर्षको बलमा जनविश्वास आर्जन गर्नु । जनविश्वासलाई मतमा बदल्नु अनि चुनाव जित्नु । धरानका मेयर हर्क साम्पाङले यो काम गएको स्थानीय चुनावमा सम्भव तुल्याएर देखाएका थिए ।

चुनावपछिका दुई महिनामा उनले अर्को काम पनि गरिरहेका छन्, जुन पछिल्लो एक महिनायता धरानका विभिन्न खोलाका बगरमा सम्भव भइरहेको छ । आफूलाई मत दिने जनतालाई उनले यतिबेला विकासे काममा प्रत्यक्ष जोडेका मात्रै छैनन्, एक महिनाभन्दा लामो समयदेखि निरन्तर श्रमदान गर्ने उत्साह पनि भरेका छन् ।

धरानमा खानेपानीको स्रोत थप्ने अभियान चलाएका मेयर साम्पाङको पहलमा तिनै जनता दिनरात खटिरहेका छन्, जसले हिजो उनलाई जिताउन सघाएका थिए । ‘भोट दिएर मात्रै हुँदैन नि, राम्रो काम गर्ने मान्छेलाई सघाउन पनि तयार हुनु पर्यो नि’, ५३ वर्षीया बागमति राईले भनिन् ‘छोराछोरीले घाममा नजानु भनेर रोक्न खोज्छन्, म त सधैं आइरहेको छु ।’ निशाने खोलाको बगरमा बोरामा बालुवा भरेर ओसार्दै गरेकी बागमतिले थपिन् ‘हामी पानी नपाएर दुःख पाएकाहरुको दुःख मेट्नु मेयर लागेको बेला किन साथ नदिनु भनेर आएको हो ।’

निशाने खोला बगरमा कोही गिट्टी कुटिरहेका छन्, कोही बोरामा बालुवा ओसारिरहेका छन्। कोही ढुंगा बोक्दैछन्, कोही गंैती र झम्पल ढुंगामा बजारेर हातमा ठेला उठिञ्जेल बगर खनिरहेका छन् ।
उनीहरुमध्ये धेरैसँग जीवनमा मजदुरी गरेको अनुभव छैन । तर, सबै मजदुर जत्तिकै लगावपूर्वक खोला बगरमा पसिना बगाइरहेका छन् । त्यो पनि निशुल्क। निशुल्क मात्रै होइन, स्वेच्छाले । धरानका मेयर हर्क साम्पाङको आह्वानमा एक महिनादेखि उस्तै उत्साह र लगनले खोला बगरमा मिहेनत गरिरहेका उनीहरुको मक्सद एउटै छ, धरानको तिर्खा मेट्ने ।

खानेपानी अभावको चर्को सास्ती सहेर बसेको धरानको तिर्खा मेट्ने मुख्य एजेण्डासहित मेयरमा निर्वाचित साम्पाङको त्यही सपना पूरा गर्न सयौं धराने चर्को घामकोसमेत पर्वाह नगरी खोला बगरमा कठोर श्रम गरिरहेका भेटिन्छन् ।

यस्तै काम उनीहरुले लगातार २७ दिनसम्म पकुवा खोलामा गरे । पकुवा खोलाबाट दैनिक पाँच लाख लिटर खानेपानी ट्यांकीमा थपियो । अहिले तीन इञ्चको पाइपबाट २४ घण्टा नै पकुवाको पानी धरानको खानेपानी आयोजनामा थपिएको छ । मेयरसहितका हजारौं धरानेको श्रमदानमा काम फत्ते भइसकेको छ । २७ दिनमा पकुवा प्रोजेक्ट सकिएपछि अहिले उनीहरु ‘निशाने प्रोजेक्ट’ मा तल्लीन छन् ।

चुनाव जितेयताका समयमा उनले धरानमा खानेपानीको सेवा सुधारमा आफूलाई केन्द्रीत गरेका छन्। धरानका विभिन्न क्षेत्रमा वृक्षारोपण अभियान चलाइरहेका छन्। जंगल क्षेत्रमा फलफूल रोपेर बाँदरलाई जंगलमै भुलाउने योजना पनि उनले अघि सारेका छन्। त्यसो त उनले धरानको प्राकृतिक स्रोत दोहन गर्न नदिने अडानले झण्डै बजेट पास नहुने अवस्था आयो ।

किड्नी र कलेजो बेचेर गहना लाउँछु भन्नु र प्राकृतिक स्रोत बेचेर विकास हुन्छ भन्नु एउटै हो भन्दै उनी नगरसभामा कराए। अध्ययन समिति बनाएर यो विवाद निरुपण हुने भएपछि बजेट पास भएको छ । बिदाका दिनबाहेक कार्यालय समय सकिने बित्तिकै उनी खानेपानीको मुहान पुग्छन्। कहिले इन्जिनियरहरु लिएर खोला किनारमा पुग्छन् । यसरी प्राविधिकहरुसँगैको सल्लाहले जन्माएको योजना हो पकुवा र निशाने प्रोजेक्ट ।

बर्खामासमेत दैनिक पम्प चलाएर खानेपानी आपूर्ति गर्नुपर्ने बाध्यता धरानमा छ । विज्ञहरुका अनुसार यसरी पम्प चलाउँदा विद्य्ुतको महसुल मात्रै मासिक रुपमा ३५ लाख हाराहारी आउने गरेको छ ।

त्यसबाहेक सातैपिच्छे जसो समस्या आइरहने पम्पमा मर्मत खर्च पनि उत्तिकै हुन्छ । ‘अहिले श्रमदानबाट पानी थप्ने अभियानले यो खर्च पूरै घटाइदिएको छ’, धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले भने ‘यसले कम्तीमा ६ महिना धरानको खानेपानीमा ठूलो योगदान गर्ने निश्चित छ ।’

सामाजिक सन्जालमा आलोचना गरिए जस्तो निशाने र पकुवा प्रोजेक्ट हावादारी नभएको कार्यकारी निर्देशक पोखरेलको भनाइ छ । ‘एकातिर सतहको पानी जम्मा गर्दा भूमिगत स्रोतमा हुने धरानको ठूलो खर्च जोगिएको छ’, उनले भने ‘अर्कातिर यसरी निकालिएको पानी भण्डारण गर्न सकिने अवस्था बनेको छ। जनताले श्रमदानबाट यसरी योगदान गर्नु त गज्जबको कुरा हो नि ।’
उनका अनुसार धरानमा अहिले दैनिक तीन करोड लिटर खानेपानी आवश्यक पर्छ । बर्खाका केही महिना जसोतसो यति पानी आपूर्ति भए पनि हिउँदमा १ करोड ७५ लाख लिटर पानी मात्रै आपूर्ति हुने गरेको छ । जसका कारण धरान हिउँदमा सधैं काकाकुल हुने गरेको छ । १० वटा भूमिगत स्रोत र सर्दु र खर्दु गरी दुईटा सतहको स्रोतमा निशाने र पकुवा खोलाको स्रोत थपिँदा उल्लेख्य योगदान पुग्ने कार्यकारी निर्देशक पोखरेल बताउँछन् ।

मेयर साम्पाङ पनि यसबारे प्रष्ट छन् । ‘यो स्थायी स्रोत होइन भन्नेमा म प्रष्ट छु’, उनले भने ‘त्यसैले त सप्तकोशीको पानी ल्याउने योजना बन्दैछ छ । तर, यति भए पनि स्रोत थपिँदा फाइदा धरानलाई नै हुने होइन ? पानी यहीँका मान्छेले खाने होइन ?’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।