विराटनगर । प्रदेश १ को चियाको राजधानी भनेर चिनिने इलाममा यो वर्ष तयारी चिया बिक्री गर्न सकस भएको छ । भारत र तेस्रो मुलुकबाट माग नै नआएको र माग भएपनि उत्पादन लागत मूल्य उठ्न कठिन भएको उद्योगी–व्यवसायीले बताएका छन् ।
कोभिड–१९ संक्रमणले चियाको अन्तर्राष्ट्रिय बजारमा असर पुगेको थियो । यो पटक रुस र युक्रेन युद्धका कारण भारतमा चिया बिक्री नभएको उद्योगी–व्यवसायी बताउँछन् । भारतबाट ठूलो मात्रामा रुस र युक्रेनमा चिया निर्यात हुने गरेपनि यो पटक युद्धका कारण असर पुगेको त्यहाँका व्यवसायीको जवाफ छ ।
नेपालबाट किनेको चिया भारतबाट अन्य देशमा समेत पुग्ने गरेको छ । तर, यो पटक भारतमा मात्र नभइ युरोप, अमेरिकालगायत अन्य देशबाट समेत तयारी चियाको माग नआएको उद्योगी कमल मैनालीले बताए । माग आएपनि लागत मूल्य नै नउठ्ने गरीको मूल्य पाउने उनको भनाइ छ । ‘भारतले निर्यात गर्ने तयारी चियाको २२ प्रतिशत बजार रुस र ८ प्रतिशत युक्रेन रहेछ,’ मैनालीले भने, ‘यो पटक ती देशमा चिया बिक्री नहुँदा भारतका व्यापारीले नेपालको चिया किन्न चाहेकै छैनन् ।’
मैनाली जर्मनी, अमेरिका लगायत देशमा पनि आफ्नो तयारी उत्पादन बेच्छन् । ‘तेस्रो मुलुकबाट पनि यो पटक गतवर्षहरूभन्दा माग निकै कम आएको छ,’ उनले भने, ‘जसले माग गरेका छन्, उनीहरूले दिने मूल्यले पनि अहिले यहाँको लागत नै उठ्दैन । हामीलाई धेरै अन्योल भएको छ । किसान ठूलो समस्यामा परेका छन् ।’
मैनालीले सञ्चालन गरेको इलाम नगरपालिका–१, साखेजुङस्थित हिमालयन सांग्रिला टी प्रोड्युसर्स प्रालिले गतवर्ष १ लाख किलो तयारी चिया विक्री गरेको थियो । यो वर्ष उत्पादन पोहोरकै हाराहारीमा रहने सम्भावना भएपनि माग नभएको उनले जनाए । ‘पोहोर ६ हजार किलो तयारी चिया अर्डर गर्ने व्यापारीले यो वर्ष १ हजार किलोमात्र मागेका छन्,’ उनले भने, ‘यो वर्षको अहिलेसम्म चिया निर्यातको अवस्था नाजुक छ ।’
इन्धनको निरन्तर मूल्य वृद्धि पनि चिया बिक्री समस्याको अर्काे कारण भएको छ । र, तयारी चिया ढुवानीमा पनि खर्च बढेका कारण आफूहरूलाई समस्या भइरहेको उद्योगी–व्यवसायी बताउँछन् । साखेजुङकै अर्का उद्योगी चिरञ्जीवी दाहालले यो वर्ष आफूले उद्योगमा चिया प्रशोधन नै नगरेको बताए । उनको उद्योगमा गतवर्ष करिब ४० हजार किलो तयारी चिया उत्पादन भएको थियो । ‘यो वर्ष समयमा तयारी चियाको माग नै आएन,’ उनले भने, ‘पोहोर साल प्रतिकिलो औसत ४ सय रुपैयाँमा बिक्री हुँदा पनि लागत मूल्यसम्म उठ्थ्यो, यो वर्ष प्रतिकिलो ७ देखि ८ सय रुपैयाँमा बेच्दा पनि लागत उठ्दैन ।’
साखेजुङका उद्योगले अहिले हरियो चियापत्तीको मूल्य सामान्यतः प्रतिकिलो ७० रुपैयाँ दिँदैछन् । दाहालले किसानले मल नपाउँदा यो वर्ष हरियो चिया उत्पादनसमेत ज्यादै कम भएको बताए । साखेजुङ क्षेत्रमा प्रतिवर्ष २० हजार किलोभन्दा बढी तयारी चिया उत्पादन गर्ने ९ उद्योग छन् ।
इलाम र झापाका ७ चिया बगान लिजमा लिएको त्रिवेणी सांघाई समूहले पनि यो वर्ष तयारी चिया निर्यातमा समस्या भएको बताएको छ । समूह अध्यक्ष सुवास सांघाईले यो वर्ष तयारी चियाको माग नै नआएको बताए । ‘हाम्रा बगानले उत्पादन गरेको सबैजसो चिया भारतमै बिक्री हुन्थ्यो,’ उनले भने, ‘यो पटक भारतका व्यापारीले यहाँको चिया किन्नै चाहेका छैनन्, रुस र युक्रेन युद्धको असरले यस्तो भएको भन्ने हामीलाई जबाफ दिएका छन् ।’ उनले तयारी चियाको मूल्य ज्यादै कम भएको पनि बताए । सूर्याेदय नगरपालिका–९, सुन्दरपानीमा रहेको गोर्खा टी स्टेटलाई भने चिया बिक्रीमा खासै समस्या छैन । पुरानै व्यापारीले यहाँको चिया खरिद गर्ने भएका छन् । तर, समग्रमा गतवर्षहरूजस्तो माग र मूल्य चाहिँ नभएको उद्योगी उदय चापागाईं बताउँछन् । ‘मेरो उद्योगको चिया बेच्न त खासै समस्या छैन,’ उनले भने, ‘तर, मसँग सम्पर्कमै रहेका युरोपका व्यापारीले यो वर्ष नेपालको चिया खासै किन्न रुचाएका छैनन्, किसानदेखि उद्योगीलाई समस्या परेको छ अहिले ।’
उद्योगी चापागाईंले अन्तर्राष्ट्रिय बजारमा चिया किन्ने व्यापारीमा उत्साह नदेखिएको र तयारी चियाको ढुवानी मूल्यसमेत बढेको बताए । ‘सरकारले हाम्रो समस्या कहिल्यै सुनेन, यो भूपरिवेष्ठित देशमा आयात जसरी भइरहेको छ, आयात गराउने विदेशी व्यापारीलाई निर्यातका लागिसमेत प्रोत्साहित गर्नुपर्ने हो, त्यो भएन ।’
नेपालबाट वर्षेनी सवा ३ अर्ब रुपैयाँको तयारी चिया निर्यात हुनेगरेको तथ्यांक छ । विदेशी मुद्रा आर्जनको गतिलो स्रोत भएपनि सरकारी सधैं चिया क्षेत्र सरकारको उपेक्षामा परेको किसानदेखि उद्योगीसम्मको गुनासो छ। गुणस्तरीय चिया उत्पादन र विक्रीमा तीनै तहका सरकार उदासीन हुँदा आफूहरू मर्कामा परिरहेको किसान र उद्योगी बताउँछन् ।

