विराटनगर । पूर्वी मोरङका कयौं परिवारको गुजारा सामुदायिक वनको निगुरो टिपेरै चल्ने गरेको छ । सिजनमा यो वैकल्पिक रोजगारीको स्रोतनै बन्न पुगेको छ । सामुदायिक वनमा पाइने निगुरा टिपेर थुप्रै परिवारले आम्दानी गरिरहेका छन् । त्यही आम्दानीबाट दैनिकी चलाउने र छोराछोरी पढाउनसमेत सहयोग पुगेको छ ।

चैत महिनाबाट सुरु हुने निगुरोको सिजनमा सामुदायिक वनमा गएर निगुरो टिप्नेहरु धेरे छन् । असोज महिनासम्म यो क्रम निरन्तर चलिरहन्छ । उनीहरुले टिपेको निगुरो किन्न तरकारी व्यापारीहरु जङ्गलमै पुग्ने भएकोले बजार खोज्न टाढा जानु पर्दैन ।

पूर्वी मोरङका जंगलमा बिहानै झिस्मिसेबाट नै डोको बोकेर पस्नेको ठूलो संख्या देख्न सकिन्छ । चैत महिनादेखि कात्तिकसम्मको निगुरो पाइने सिजनलाई केन्द्रित गरेर उनीहरु वर्ष दिनको आफ्नो गुजारा चलाउन जंगल धाउँछन् । जंगल पसेका मानिसहरु बिहान ११ बजे सम्ममा डोकोभरी निगुरो बोकेर निस्कन्छन् । सिरहा, सप्तरीदेखि झापाको काँकडभित्तासम्मका व्यापारीहरु निगुरो किन्न मोरङका वन क्षेत्रमा आउने गरेका छन् ।

पथरी शनिश्चरे, कानेपोखरी, लेटाङ, भाउन्ने, लक्ष्मीमार्ग लगायतका सामुदायिक वनमा प्राकृतिक निगुरो पाइन्छ । यही निगुरोका कारण कतिपयको दैनिक गुजारा चल्ने गरेको छ । स्थानीय बजारदेखि काठमाडौंका भान्सासम्म पुग्ने यहाँको निगुरोले हजारौको संख्यामा मानिसलाई रोजगारी दिएको छ । लकडाउन अघि काठमाण्डौ सम्मका व्यापारी आएर निगुरो लैजाने गरेको स्थानीय व्यापारीहरु बताउँछन् । गत वर्ष कोरोना महामारीका कारण बन्दाबन्दी भएपछि भने निगुरो निकासी लगभग ठप्प भएको उनीहरुको भनाइ छ । यस वर्ष भने पहिलाको तुलनामा निगुरो उत्पादन कम भएको छ ।२० वर्ष अघिदेखि पथरी र बेलबारी बीचका जंगलको निगुरो संकलन गर्दै धरान, विराटनगर, इटहरी, दमक, बिर्तामोड लगरे बिक्री गर्दै आएको निगुरो व्यापारीहरु बताउँछन् । निगुरो व्यापार गरेरै आफ्नो दैनिक गुजारा चलिरहेको उनीहरु बताउँछन् ।

पथरी शनिश्चरे, लेटाङ, बेलबारी नगरका साझेदारी वन क्षेत्रमा दैनिक ३–४ सय मानिसले निगुरो टिप्दै आएका छन् । धेरै मुजदुरले दैनिक निगुरो बेचेरै परिवार चलाउने गरेका छन् । यो क्षेत्रमा सय हाराहारी ठेकेदारले निगुरो संकलन गरेर काठमाण्डौ र पोखरासम्म यहाँको निगुरो पु¥याउने गरेका छन् । निगुरो टिप्ने प्रत्येक व्यक्तिले न्यूनतम ५ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म कमाउने गरेका छन् । बिदाको समयमा बालबालिकाहरु पनि निगुरो टिप्ने वनमा जाने गरेका छन् ।