गरीबका लागि आएको ६० लाख रकम फिर्ता

विराटनगर । कोरोना महामारीले गर्दा उत्पन्न असहज परिस्थितिका कारण गरिबीको चपेटचामा परेका विराटनगरका १ हजार ४८४ परिवारले सरकारबाट राहत सुविधा लिएका छन् । वर्तमान सरकारले कोरोना महामारीका कारण गरिबीको चपेटामा परेका नागरिकलाई राहत दिने घोषणा गरेर पालिकाहरुमा निकासा गरिदिएको रकम विराटनगर महानगरपालिकाले सम्बन्धित परिवारलाई उपलब्ध गराएको हो ।

संघीय सरकारले कोरोना महामारीले गर्दा रोजगार गुमाएको र वैकल्पिक आयको व्यवस्था नभई गरिबीको मारमा परेका परिवारलाई १० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने घोषणा गरेको थियो । सरकारको उक्त घोषणाअनुसार विराटनगर महानगरपालिकाका दुई हजार ८९ जनाका लागि राहत रकम प्राप्त भएकोमा महानगरले १ हजार ४८४ जनालाई राहत उपलब्ध गराएको हो ।

संघीय सरकारले राहतका लागि २ करोड ८ लाख ९० हजार रुपैयाँ निकासा पठाएको थियो । त्यस मध्ये १ करोड ४८ लाख ४० हजार रुपैयाँ वितरण भएको र ६० लाख ५० हजार रुपैयाँ वितरण हुन नसकी फर्किएको विराटनगर महानगरपालिकाले जनाएको छ ।संघीय सरकारले गरीब परिवारका लागि भनेर पठाएको रकम वास्तविक हकदारले प्राप्त गरुन् भन्ने उद्देश्यले समयमै प्रक्रिया सुरु गरेको भएपनि अनुमान गरेजतिले सरकारबाट राहत लिनका लागि आवेदन नदिएको महानगरका अधिकृत राजेन्द्र प्रधानले बताए । उनले भने ‘हामीले कात्तिक महिनामै आवेदन माग गर्दै सार्वजनिक सूचना प्रकाशन ग¥यौं, वडाहरुलाई निरन्तर फलोअप गरिरह्यौं र अन्तिममा आउँदा हामी १ हजार ४८४ जनालाई राहत रकम वितरण गर्न सफल भएका छौं ।’

महानगरपालिकाले कात्तिकमै सूचना प्रकाशन गरेर वडा मार्फत आवेदन दिन आग्रह गरेको भएपनि लक्षित समुदाय सम्म सूचना प्रवाह हुन नसक्दा राहत पाउनै पर्ने केही व्यक्तिहरु छुटेको महानगरका कर्मचारीहरुले बताएका छन् । रकम वितरण भएपछि गाउँटोलमा सरकारले गरीबलाई राहत दिएको हल्ला चलेको छ । त्यसपछि महानगरमा मैले राहत पाइन भन्दै दिनहुँ मानिसहरु आउने गरेको अधिकृत प्रधानले बताए ।
शुक्रबार विराटनगर ८ मा बसोबास गर्ने कल्पना मण्डल आफूले राहतका लागि आवेदन दिन नपाएकोले त्यसमा सहभागी गराइदिन आग्रह गर्दै महानगर कार्यालयमा पुगेकी थिइन् । उनीसँगै उनका टोलका अरु तीन जना महिलाहरु पनि थिए । तर समय सकिएकोले अब केही गर्न नसक्ने जवाफ पाएपछि उनीहरु दुःखी हुँदै फर्किए ।

महानगरपालिकाले समयमै प्रक्रिया तर सुरु गरेको भएपनि वडाध्यक्षहरुले त्यति ध्यान नदिँदा ढिलोगरी मात्र राहत पाउने गरीब परिवारको सिफारिस गरेका थिए । वडाको सिफारिसमा महानगरले तीन चरणमा राहत उपलब्ध गराएको प्रधानले जानकारी दिए । महानगरले पहिलो लटमा जेठ ३१ गते ७९३ जनालाई रकम भुक्तानी दिएको थियो । दोश्रो चरणमा असार २१ गते ६९३ जनालाई जनही १० हजार रुपैयाँका दरले राहत उपलब्ध गराएको थियो भने तेश्रो चरणमा असार २४ गते २८ जनालाई राहत दिएको थियो ।

महानगरपालिकाबाट सबैभन्दा धेरै वडा नम्बर ८ का २५२ जनाले राहत रकम पाएका छन् । वडा नम्बर १९ का १७२ जना, वडा नम्बर २ का १६४ जना, १२ का १५० जना, १४ का १३१ जनाले राहत रकम लिएका छन् ।सबैभन्दा थोरै राहत रकम पाउनेमा विराटनगर १० का बासिन्दा छन् । सो वार्डका २ जनाले मात्र उक्त राहात लिएको महानगरले जनाएको छ । यस्तै कम राहत लिनेमा वडा नम्बर ३, १, ५, १५, १६ नम्बर वडाहरु छन् । वडा नम्बर ३ का तीन जनाले,१ का ७ जनाले, ५ का १३ जनाले, १५ का २२ जनाले, १६ का १९ जनाले ७ का ३९ जनाले राहत रकम लिएका थिए ।

राहत रकम उपलब्ध गराउन आवेदन दिएपछि वडाहरुले उनीहरुको नाम सार्वजनिक सूचना पाटीमा टाँसेर तीन दिनभित्र दाबी विरोध पेश गर्न आव्हान गरेको थियो । सामाजिक सुरक्षा भत्ता प्राप्त नगरेको, कोरोनाका कारण रोजगार गुमेको र दीगो रोजगारीको अवसर नपाएको जस्ता विभिन्न मापदण्ड पूरा गरेकाहरुले राहत पाएका थिए । वडाहरुले सिफारिस गरेको करिव २ सय बढी नाम छानविनका क्रममा काटिएको प्रधानले बताए ।

महानगरपालिकाले विराटनगर स्थित एनआइसी एशिया र सिभिल बैंकमा खाता खोल्न लगाई रकम भुक्तानी गरेको थियो ।

आइतबार, ०१ साउन, २०७९, बिहानको ०७:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर