विराटनगर । मोरङ सुन्दरहरैंचा ११ का विवश तामाङ मतदाता नामावलीमा नाम दर्ताका लागि फोटो खिच्ने लाइनमा छन् । विराटनगरको निर्वाचन कार्यालय अगाडि लाइनमा बसेका उनको पालो कतिखेर आउने कुनै टुंगो छैन ।

स्थानीय राजनीतिक अभियानकर्मीहरुले गाडीमा भेला पारेर उनीजस्तै थुप्रै युवा, युवती तथा वृद्धवृद्धालाई मतदातामा नाम दर्ता गराउन निर्वाचन कार्यालय पठाइरहेका छन् ।

विवश मात्रै होइन सोही ठाउँका चक्र खवास हुन् या सुन्दरहरैंचाकी ५९ वर्षीय लक्ष्मी सुवेदी पनि मतदाता नामावली दर्ता गर्ने लाइनमा बसिरहेकी छन् । सोही ठाउँका ६५ वर्षीय सोमनाथ सुवेदीले बिहानै आएर लाइन बसेर फोटो खिचाएको बताए ।

प्रदेश १ निर्वाचन कार्यालय विराटनगरमा नयाँ मतदाताहरु फोटो खिच्न लाम लागेका छन् । असार १ गतेदेखि सुरु भएको फोटो खिच्ने कार्यमा नयाँ मतदाताहरुको भीड थामिनसक्नु रहेको कार्यालयले जनाएको छ । विराटनगरमा मङ्गलबार ३५ डिग्रि सेल्सियस तापक्रम भएपनि कार्यालय अगाडि दिउँसोको टन्टलापुर घाममा महिला तथा वृद्धवृद्धाहरु पनि लाइनमा बसेका देखिए ।

निर्वाचन कार्यालयमा लाम लागेकाको फोटो खिच्न सोमबार राति ११ बजेसम्म लागेको निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिए । ‘हिजो त राति ११ बजेसम्म फोटो खिच्न लाग्यो, आज पनि राति ८ बजेसम्मलाग्ने देखिन्छ,’ अधिकारीले भने, ‘फोटो खिच्नकै लागि ५ वटा स्थान तोकिएको छ ।’

निर्वाचन कार्यालयले असार १ गतेयता अन्य कुनै काम गर्न नसकेको अधिकारी बताउँछन् । सोमबारसम्म नयाँ मतदाता नामावली दर्ता गर्नेको संख्या १२ हजार पुगेको अधिकारीको भनाइ छ ।

मङ्गलबार पनि १ हजार बढीले मतदाता नामावलीमा नाम दर्ता गर्ने काम गरेको निर्वाचन कार्यालयको अनुमान छ । निर्वाचन कार्यालयमा मतदाता नामावली स्थानान्तरण, नाम सच्याउने, नयाँ फोटो खिच्नेहरू आएका छन् । फोटो खिच्ने कार्य निर्वाचनको मिति घोषणा नभएसम्म हुनेछ ।

सरकार र निर्वाचन आयोग यहि कार्तिक वा मंसिरको पहिलो हप्तासम्ममा संघ र प्रदेशको निर्वाचनको तयारीमा छ । स्थानीय तहमा मतदानमा भाग लिन नपाएर थक्कथक्क मानेका युवाहरु अहिले लाइनमा बसिरहेका छन् । त्यसबाहेक वैदेशिक रोजगारीबाट आएका, बसाइ सराइबाट आएकाहरुको पनि संख्या उल्लेख्य रहेको अधिकारीले जानकारी दिए ।

यता मोरङको उर्लाबारी ३ स्थित मंगलाबारे इलाका प्रशासन कार्यालयमा पनि मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड लागेको छ । कार्यालयमा फोटो खिचाउनेको भीड बढेको कारण बिहान ७ बजेदेखि नै कार्यालयमा काम सुरु गरिएको छ ।