विराटनगर । बलात्कार आरोपमा धनकुटाको शहीदभूमि गाँउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सन्तोष राई पक्राउ परेका छन् ।

जबरजस्ती करणी गरेको भन्दै युवतीले उजुरी दिएपछि प्रहरीले शनिवार राति राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरिक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

उजुरी परेपछि धनकुटा बजार क्षेत्रबाट राति ११ बजे वडाअध्यक्ष राईलाई नियन्त्रणमा लिइएको उनले बताए ।असार २४ गते होटल लगेर बन्धक बनाएको भन्दै युवतीले जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिएकी थिइन् ।तेह्रथुमको वसन्तपुरमा रहेको ताप्लेजुङ होटलमा बन्धक बनाएर बलात्कार गरेको युवतीले आरोप लगाएकी छन् ।

हिले घुम्न जाँउ भनी वसन्तपुरमा पुर्‍याएर होटलमा बन्धक बनाएर बलात्कार गरेको प्रहरीमा दिएको उजुरीमा उनले उल्लेख गरेकी छन् ।युवती हिलेसम्म स्कुटरमा आएकी थिइन् । हिलेट बाट भने युवति पनि राइकै सवारी साधनमा गएकि थिईन् ।

हिलेमा दुवै जना भेट भएपछि तेह्रथुमको लसुनेसम्म घुम्न सँगसँगै गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । लसुने पुगेर बास बस्न भने बस्न्तपुरनै आएको प्रहरीले जनाएको छ ।

घटनास्थल तेह्रथुम भएकाले राईलाई तेह्रथुम पठाउने तयारी भइरहेको धनकुटा प्रहरीले जनाएको छ ।

राईले नेपाली कांग्रेसबाट वडाअध्यक्षमा जितेका हुन् ।