विराटनगर । हिन्दु धर्मावलम्बीहरुले हरिशयनी एकादशी अर्थात् तुलसी रोपन दिवस मनाउँदैछन् । यसलाई देवशयनी, आषाढी र पद्मनाभा एकादशी पनि भनिन्छ ।
आज तुलसीको विरुवा सार्ने दिनका रुपमा मनाउने प्रचलन छ । आषाढ शुक्ल एकादशीका अवसरमा आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ ।
आजका दिन हिन्दू धर्मावलम्बीहरुले आफ्नो आँगनमा रहेको तुलसीका मठमा तुलसीको विरुवा रोप्ने वा सार्ने गर्छन् । एक महिना अघि अर्थात् निर्जला एकादशीको दिन विजारोपण गरिएको तुलसीलाई आज रोप्ने गरिन्छ ।
तुलसीलाई भगवान विष्णुको अवतारका रुपमा पूजा गरिन्छ । आजका दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु (हरि) र तुलसीको पूजाअर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ ।
घर आँगनमा तुलसीको मठमन्दिर राखी तुलसी रोप्नेको घरमा सदैव देवताको वास रहने मान्यता छ । स्वप्नमा पनि यमराजका दूत त्यस घरमा पुग्न नसक्ने र तुलसीको बोट विरुवामा जल चढाइरहने मानिसका वंशको तीनै लोकमा कल्याण हुने तथा निःसन्तान मानिसलाई सन्तान जन्मिनेजस्ता धेरै जनविश्वास प्राचीन कालदेखि रहेका छन् ।
साथै आजैबाट चतुर्मास वा चौमास पनि सुरु भएको छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्मको समयमा विवाह, व्रतबन्ध जस्ता कार्य गर्न नहुने धार्मिक मान्यता छ । यो समय यात्राको लागि वर्जित गरिएको छ । हिन्दुका महत्वपूर्ण चाडपर्व यसै समयमा पर्दछन् ।
चतुर्मास अवधिमा श्रीविष्णुको पूजा, आराधना, चिन्तन, मनन, उपासना, र व्रत गर्ने मानिस भगवान् विष्णुको प्रिय हुन्छ भन्ने कुरा एकादशी महात्म्यमा उल्लेख रहेको पाइन्छ ।

