विराटनगर । मोरङ प्रहरीले २७४ जना फरार अभियुक्त पक्राउ गरेको छ । गम्भीर प्रकृतिका अपराधमा संलग्न भइ फरार भएका अभियुक्तहरूलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

चालु आर्थिक वर्षको असार २० गतेसम्म २५१ पुरूष र २३ जना महिला प्रतिवादीलाई पक्राउ गरेको मोरङ प्रहरी प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेकामध्ये फौजदारी कसुरका २०३ र देवानी संहिता मुद्दाका ७१ जना फरार अभियुक्तलाई पक्राउ गरि कारवाहीको दायारमा ल्याएको उनले बताए ।

प्रहरीले फरार अभियुक्त पक्राउ गरि २५९ वर्ष १० दिन कैद सजाय र ५४ लाख ५१ हजार ३६५ रूपैयाँ राजस्व असुली गरेको मोरङ प्रहरीको अभिलेखमा देखिन्छ । फरार पक्राउ पर्ने अभियुक्त कर्तब्य ज्यान, जवरजस्ती करणाी, डाकालगायत मुद्दाका फरार अपराधीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्लाको समग्र शान्ति सुरक्षा कायम राखेर अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रहरी परिचालन हुँदै कानूनप्रतिको आडभरोसा कायम राख्न र पीडितलाई न्यायको अनुभुति दिलाउन लागिपरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । ‘पीडक पक्षलाई कानूनवाट भाग्न वा बच्न सकिदैन भन्ने डर पैदा गर्न फरार अभियुक्त पक्राउमा प्रहरीले प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ,’ उनले भने, ‘ढिलो चाँडो गलत काम गर्नेहरू कानुनी दायरामा आउनैपर्छ, त्यसैले पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी अपराधी पक्राउ गर्छौं । अदालतको फैसला कार्यान्वायनलाई प्राथमिकतामा राखी फरारी पक्राउ गरिएको हो ।’

अपराध गरेर जतिदिन लुकिछिपी बसेपनि तोकिएको कैद वा जरीवाना भुक्तान नगरी छुट छैन भन्ने सन्देश पनि दिएको एसपी कोइरालाले बताए । ‘अपराध गरेपछि सजाय भुक्तान नगरी बचेर बस्न सकिदैन भनेर समाजमा सन्देश दिन र यही सन्देशका माध्यमवाट समाजमा अपराधको न्यूनिकरण पनि गर्नका लागि सचेतना फैलने आसा गरिएको छ,’ एसपी कोइरालाले भने ।

हत्या गरेको १४ वर्षपछि अभियुक्त पक्राउ

मोरङ प्रहरीले हत्या गरेको १४ वर्षपछि एक जना जघन्य अपराधको अभियुक्तलाई पक्राउ गरेको छ । कर्तब्य ज्यान मुद्दाका अभियुक्तलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको हो । पक्राउ पर्ने बेलबारी नगरपालिका १ का ३२ वर्षीय धर्मराज पोख्रेल रहेका छन् ।

पोख्रेलले २०६४ फागुन १५ गते मोरङ दुलारी १ का १६ वर्षीय मनोज राईलाई छुरा प्रहार हत्या गरेका थिए । हत्या गरेपछि तत्कालिन ईन्द्रपुर ३ सुकुम्बासी टोलाबाट फरार भएका पोख्रेललाई मोरङ अदालतले २०७३ फागुन २२ गते २० वर्ष कैदको फैसला गरेको थियो ।

फरार रहेका पोख्रेललाई इलाका प्रहरी कार्यालय बेलबारीले २०७८ भदौ १२ गते पक्राउ गरि अदालतमा उपस्थित गरेपछि अहिले कारागारमा कैद भुक्तान गर्दै आएका छन् । यस्तै मोरङ प्रहरीले एकैदिन १० जना फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न अपराधमा संलग्न भएका कारण दोषी ठहर भए पनि फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गर्दा ३ वर्ष कैद र ५ लाख १२ हजार रूपैयाँ जरिवाना असुल भएको छ ।

चोरी मुद्दाका ४, लागुऔषधका २, विष्फोटक पदार्थ, जबरजस्ती करणी, सवारी ज्यान र बैंकिङ कसुर सम्बन्धी मुद्दाका १–१ जना प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जरीवानाको फैसला भएकासँग त्यसवापतको रकम असुल गरिएको छ ।