लोड हुँदैछ...

मेनु

मोरङबाट भन्सार छलेर ल्याएको २९ लाखको कपडा बरामद

मोरङबाट भन्सार छलेर ल्याएको २९ लाखको कपडा  बरामद

विराटनगर । मोरङको आमबारी, रङ्गेली र सुनसरीको भन्टावारि, लौकी, भोक्रा, घुस्की लगायतको नाकाबाट ठुलो परिणामको लत्ताकपडा तस्करीको माध्यमबाट नेपाल भित्रिन थालेको छ ।

 

झापा र इलाम जिल्लाबाट हुने लत्ताकपडा तस्करी कारोबारीबीचको आन्तरिक विवादले रोकिएपछि तस्कर समूह मोरङ र सुनसरी नाका प्रयोग गर्न थालेका हुन ।

 

मोरङको आमबारी नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको १८ पोका लत्ताकपडा सशस्त्र प्रहरीले झापाको बिर्तामोडबाट बरामद गरेको छ ।

 

बिना कागजात ल्याइएको १८ पोका कपडा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरेबाट खटिएको टोलीले बिर्तामोड नगरपालिका– १ स्थित पश्चिम बस स्टेन्ड नजिकैबाट बुधवार विहान करिब ३ बजे बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डिएसपी प्रेम भण्डारीले जानकारी दिए।

 

१८ पोका कपडाको मूल्य २९ लाख ९३ हजार १ सय रुपैयाँ मूल्याङ्कन तोकेर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाइसकेको डिएसपी भण्डारीले बताए।

 

लत्ताकपडा बितामोडको पश्चिम बस स्ट्यान्ड नजिकै भण्डारण गर्ने गरीएको गोप्य सुचनाका आधारमा छापा मारेको सशस्त्र प्रहरीले जनाएको छ ।

भण्डारण गरी राखिएको स्थानबाट कपडाका पोकाहरू ठेला भ्यानमा हालेर दुर्गा भवानीको गोदामतर्फ लैजाने तयारी थियो। त्यही बेला सशस्त्र प्रहरीले कपडाका पोकाहरू बरामद गर्न सफल भएको बताइएको छ।

 

राष्ट्र बैङ्कले गत चैतदेखि भारतलगायत तेस्रो मुलुकबाट आयात हुने करिब ३०० वटा वस्तुको एलसीमा कडाइ गरेपछि त्यसको प्रत्यक्ष असर राजश्वमा परेको छ। एलसीमा कडाइ गरेपछि तस्कर समूहले तस्करीको माध्यमबाट लत्ताकपडा भित्राउँदा मेची भन्सार कार्यालय तथा भद्रपुर भन्सार कार्यालयको राजश्वमा समेत भारी गिरावट आएको छ।

 

लत्ताकपडा भन्सार आउन छाडे पनि पूर्वका बजारहरूमा लत्ताकपडा छ्यापछ्याप्ती पाउन थालेपछि यस बारेमा जिल्लास्तरीय राजश्व चुहावट नियन्त्रणको बैठकमा समेत पटक पटक कुरा उठिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds