विराटनगर ।भारतको गुजरातस्थित ‘इफको’ नामक कृषि सहकारी संस्थामार्फत् भारतीय कृषि वैज्ञानिकहरूले बनाएको झोल युरिया मलको बिक्री नेपालमा बढेको छ ।
विराटनगरका उद्योगी, व्यवसायी राकेश सुरानाको समूहले स्थापना गरेको नेपाल मल्टि टे«ड सेन्टरले अहिलेसम्म ३७ जिल्लामा डिलर खोलिसकेको जनाएको छ ।
‘३७ जिल्लामा हामीले डिलर विस्तार गरेका छौं, जिल्लाका मुख्य डिलरहरुले अन्य शाखा बनाउँछन् ।’ भारतमा ४ करोड १२ लाख किसानहरु सदस्य भएको संस्थाले १२ वर्षको परीक्षण पश्चात पहिलो पटक झोल युरिया बजारमा ल्याएको हो ।
मल यसअघि भारतका ११ सय परीक्षण केन्द्रहरुमा परीक्षण भएको बताइएको छ । भारतमा यो मलको प्रयोग अत्यधिक रहेको सुरानाको भनाइ छ । नेपालमा नार्कले टेस्ट गरेर, कृषि मन्त्रालयले सबै अनुसन्धान पुरा गरेर राजपत्रमा अंकित गरेर आयात गर्न स्वीकृत दिएपछि विक्री सुरु गरिएको उनले बताए ।
के छन् झोल युरिया मलको विशेषता ?
रोपाइको बेलामा लाग्ने चाहिं डिएपी नै हुन्छ । नाइट्रोजनलाई झोल युरियाले रिप्लेस गर्छ । यसलाई विरुवाको रोपेको ३० दिनपछि पातमा पहिलो स्पे्र गर्ने हो । फूल आउनु भन्दा अगाडि दोस्रो स्प्रे गर्ने हो । विज्ञहरुका अनुसार यसले माटोलाई पनि बिगार्दैन र नाइट्रोजन जति विरुवालाई चाहिन्छ त्यति पातको मार्फत जरासम्म लान्छ र विरुवालाई राम्रो गर्छ ।
यो स्वास्थ्यको हिसावले पनि दाना मलको तुलनामा धेरै राम्रो छ । यो असाध्यै राम्रो उत्पादन भएको सुरानाको दाबी छ । मूल्यको हिसावले पनि यो अत्यन्तै सस्तो छ । भारतमा किसानले पाउने मुल्यमा नै नेपालका किसानले पनि यो मल पाइन्छ । ‘४ सय नेपाली रुपैयाँमा प्रतिबोत्तल (आधा लिटर) नेपाली किसानले पाउने व्यवस्था मिलाएका छौं,’ सुरानाले भने, ‘चाहे मोरङ, दाङ वा इलामको किसानले पनि एउटै मूल्यमा यो मल पाउँछन् ।’
एक बोरा दाना मल बराबर एक बोतल (आधा लिटर) झोल युरियाले काम गर्ने दावी गरिएको छ । यसलाई प्रतिलिटर पानीमा ४ एमएल मिसाउनु पर्छ । एक बोतलले एक विगाहा जग्गामा पुग्छ । दाना मलको अभाब रहेकोले नेपालमा यसको रेस्पोन्स एकदमै उत्साहजनक रहेको सुरानाले बताए ।
चिया बालीमा पहिलोदेखि नै किसानले अवैध तरिकाले भारतबाट ल्याएर प्रतिबोतल ८ सय ९ सय रुपैयाँमा पनि प्रयोग गरिरहेको बताइन्छ । यस्तै उखु किसानले पनि पहिलेदेखि नै प्रयोग गरिरहेको पाइएको छ ।
नेपालको कृषि जगतलाई यसले राम्रो योगदान गर्छ भन्ने लागेको सुरानाले बताए । यो मल विक्रीमा नाफा कम रहेकोले व्यापारीले भने मार्केटिङमा आनाकानी गरिरहेको कम्पनीले जनाएको छ । डिलरलाई ५ प्रतिशत र खुद्रा विक्रेतालाई ५ प्रतिशत नाफा दिएको सेन्टरको भनाइ छ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।