विराटनगर । विराटनगर महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त अभियान सञ्चालन गरेको छ ।

विभिन्न मन्दिर र सार्वजनिक स्थलमा बसेर भिख मागेर खानेहरुलाई महानगर प्रहरीले उद्धार गर्ने अभियान सुरु गरेको हो । भारतीय नागरिकसमेत मन्दिर र सार्वजनिक स्थलहरुमा आएर भिख माग्ने प्रवृत्ति बढेपछि महानगरले सडक मानवमुक्त अभियान सञ्चालन गरेको मेयर नागेश कोइरालाले बताए । उनका अनुसार काम गरेर खान सक्ने अवस्थाका व्यक्तिहरु पनि भिख माग्न बस्ने गरेका छन् ।

अशक्त र सहाराविहीनहरुलाई विराटनगरस्थित मानव सेवा आश्रमको जिम्मा लगाइएको छ । ‘बलकै काम गरेर पनि खान सक्ने व्यक्तिहरु पनि भिख माग्ने लाइनमा बसेको देखियो । यो समाजका लागि ठीक होइन । काम गर्न सक्नेले त काम गरेर खानु खानुपर्‍यो नि,’ कोइरालाले भने, ‘अर्कातिर यसरी सडक नै ढाकेर माग्न बस्दा सहरको सभ्यता अनि सौन्दर्यतामै ह्रास आउँछ । त्यही भएर उनीहरुको उद्धार गरिएको हो ।’ सहाराविहीन र काम गर्न नसक्नेहरुका लागि थुप्रै आश्रमस्थल रहेको बताउँदै मेयर कोइरालाले भारतीयबाट समेत हुलका हुल भीख माग्नेहरु आउन थालेका कारण कडाइ गरिएको बताए ।

काम गर्न सक्ने र सहारा भएकाहरुलाई अब आइन्दा भिख नमाग्ने शर्तमा छाडिएको महानगर प्रहरीका निरीक्षक राजन पौडेलले बताए । विराटनगरस्थित काली मन्दिर र शनि मन्दिरका साथै सार्वजनिक स्थलहरुबाट हालसम्म दुई दर्जनभन्दा बढीको उद्धार गरिएको पौडेलले जानकारी दिए । काम गर्न नसक्ने र सहाराविहीलाई मानव सेवा आश्रमको जिम्मा लगाइएको उनले बताए ।

उद्धारका लागि महानगर प्रहरी पुग्दा धेरै व्यक्ति भागेको पौडेलले बताए । यसैबीच, महानगरले फुटपाथ खाली गर्ने अभियानलाई पनि तीव्रता दिएको छ । नाली नै जाम हुनेगरी निर्माण सामग्री राख्दा डुबानको समस्या निम्तिने गरेको छ । त्यस्तै छाडा चौपायालाई नियन्त्रणमा लिने कार्य पनि महानगरले अघि बढाएको छ । खसी, बाख्रा, गाई, भैंसी नियन्त्रणमा लिएर जरिवाना तिराएर सम्बन्धित पशु धनीलाई बुझाइएको महानगर प्रहरी निरीक्षक पौडेलले जानकारी गराए ।