विराटनगर । संखुवासभाको मादी नगरपालिका–१ स्थित माम्लिङमा एकै पिरवारका ६ जनाको हत्यामा संलग्नलाई जिल्ला अदालत सङ्खुवासभाले आजीवन कैद सजायको फैसला सुनाएको छ ।
एकै परिवारको ६ जनाको हत्या गरिएको घटनामा ४९ वर्षीय रणबहादुर कार्की, छोराहरु २८ वर्षीय लोकबहादुर कार्की र १७ वर्षीय नरेश तथा ४७ वर्षीय खड्गबहादुर कार्की र उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्कीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको थियो । तीमध्ये रणबहादुर, लोकबहादुर, खड्गबहादुर र हस्तबहादुरलाई आजीवन कारावासको सजाय सुनाइएको हो ।
५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नातिनातिना ८ वर्षका विपिन र ५ वर्षीया गोमा कार्कीको २०७८ साल भदौ २१ गते सामूहिक हत्या भएको थियो । व्यक्तिगत रिसिविका कारणा उनहरूको हत्या गरिएको थियो भने हत्यामा संलग्नहरु तेजबहादुरकै दाजुभाई हुन् ।
जिल्ला अदालत संखुवासभाका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले ६ जनाको हत्यामा संलग्नमध्ये चार जनालाई आजीवन कारावासको सजाय हुने फैसला गरेको हो । चार जनालाई आजीवन कारावासको सजाय सुनाएको स्रेस्तेदार केदारप्रसाद गौतमले बताए । हत्यामा भने ५ जना संलग्न रहेको पुष्टि भएको थियो । १ जनाको हकमा भने नाबालक रहेकाले उनलाई कम सजाय भएको गौतमले बताए । २५ वर्षलाई आधार मानेर दुईतिहाई कैद हुने फैसला भएको छ । आजीवन कारावासको सजाय सुनाइएकाहरुले बाँचुन्जेलसम्म कारागारमा बसेर कैद सजाय कटाउनुपर्ने गौतमले बताए । चार जनाले मृतक परिवारको राहत कोषमा २–२ लाख रूपैयाँ क्षतिपूर्ति रकमसमेत जम्मा गर्नुपर्ने फैसला अदालतले गरेको छ । नाबालकले भने दुई लाख जम्मा गर्नु पर्दैन ।
नरेश कार्कीले भने १६ वर्ष ८ महिना मात्रै कैद सजाय भुक्तान गर्नुपर्ने भएको छ । उनीविरुद्ध भने कर्तव्य ज्यानसँगै चोरी मुद्दा पनि चलाइएको थियो । हत्या गरेपछि मृतकको साथमा भएको मोबाइल नरेशले लिएर गएका थिए । त्यही अभियोगमा उनीविरुद्ध चोरी मुद्दा चलाइएको हो ।
चोरी मुद्दामा पनि अदालतले उनलाई कसुरदार ठहर गर्दै १ वर्ष कैदको सजाय सुनाएको छ । तर बालक भएकाले चोरीमा पनि उनले दुईतिहाइ मात्रै कैद भुक्तान गर्नुपर्ने अदालतले जनाएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।