विराटनगर । सोमबार रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको अध्यक्ष लगायत पदाधिकारीको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । निर्विरोध निर्वाचित भएकी रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको सातौं अध्यक्षमा नम्रता रिजाल रहेकी छिन् ।
कार्यक्रममा रोटरी क्लबका गर्भनर जीतेन्द्र बहादुर राजभण्डारीले अध्यक्ष रिजाललाई पदको सपथग्रहण गराएका थिए । सपथग्रहण कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष रिजालले आफ्नो कार्यकालमा विराटनगरमा हुने गरेको रगत अभावको समस्या समाधान गर्न ब्लड बैंकसँग सहकार्य गरी रगतको उपलब्धता बढाउने, विराटनगरस्थित कोशी राजमार्गका विभिन्न ठाउँमा यात्रुहरुका लागि प्रतिक्षालय निर्माण गर्ने र त्यसको शुरुवात विराटनगरको बरगाछी चोकबाट गरिने बताइन् ।
उनले विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई लक्षित गरेर ‘गुड टच र व्याड टच’ को बिषयमा सचेतनामुलक कार्यक्रम संचालन गर्ने, विराटनगरका विभिन्न क्षेत्रमा वृक्षारोपण गर्ने, गरिव तथा जेहेन्दार विद्यार्थीहरुकालागि निःशुल्क शिक्षाको व्यवस्था मिलाउन, विराटनगर क्षेत्रमा सरसफाई तथा ग्रिननेरी गर्नकालागि सम्बन्धीत निकायसँग समन्वय र पहल गर्ने पनि बताइन् ।
रिजालको कार्यसमितिमा प्रेसिडेन्ट एलेक्टमा प्रिया सारडा, उपाध्यक्षमा सरिता शर्मा, सचिवमा जिना थापा र कोषध्यक्षमा दिक्षा प्याकुरेललगायत २९ जना बोर्ड सदस्य रहेका छन् । नवनियुक्त अध्यक्ष रिजालले कार्यसमितिका पदाधिकारीलाई सपथ ग्रहण गराएकी थिइन् ।
कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष मुन थपलियाले नयाँ कार्यसमितिको सफल कार्यकालको कामना गरे । कार्यक्रममा रोटिरियन संजय गिरी, सन्तोष रिजाल, बासुदेव गोल्यान र नवीन रिजाललगायतको सहभागीता थियो ।

