विराटनगर ।भारतीय नागरिक जापाडिया नरेशकुमार बाबु भाइको हत्या गरेको आरोपमा झापा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । झापाको अर्जुनधारा नगरपालिका–४ साहसी टोलस्थित कच्ची सडक खण्डको ह्युम पाइपभित्र बोरामा फेला परेको शवको पहिचान भए सँगै हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा अर्जुनधारा–७ कि ३२ वर्षे जानुका सुवेदी थापा, उनका ४९ वर्षीय श्रीमान् बर्खबहादुर थापा र सुनसरी वराहक्षेत्र–१० का २५ वर्षे सुरेश परियार रहेका छन् । घटनामा संलग्न अर्का एक जना भने फरार छन् । असार १२ गते उनीहरुले असार १२ गते साँझ नरेशको हत्या गरेका थिए ।

यस्तो छ हत्याको नालीबेली

झापा प्रहरी प्रमुख एसपी विश्वमणि पोख्रेलका अनुसार २०७६ साल मङ्सिरमा जानुका सुवेदी थापा भारतको दिल्लीमा गएर २ महिना बसेकी थिइन् । उनी त्यहाँबाट गुजरातमा गएर डेढ महिना बसिन् । गुजरातमा जानुकाको नरेशकुमारसँग चिनजान भएको थियो । थापालाई गत फागुनको अन्तिम साता भारतको पानी ट्यांकीमा ल्याएर नरेशले छाडेका थिए । २०७६ चैत्रमा भारतीय गाडीमा जानुकाका छोरा छोरीलाई खेलौना तथा लत्ताकपडा समेत नरेशले पठाएका थिए । नरेशले थापाको घर बनाउनका लागि पाँच लाख दिएको समेत प्रहरी उपरीक्षक पोख्रेलले बताए । नरेशलाई इलाका प्रहरी कार्यालय रानी विराटनगरले अबै भारतीय नोट भारु ५९ हजार सहित २०७९ बैशाक ४ गते पक्राउ गरेको थियो । पक्राउपछि उनी आन्तरिक राजस्व कार्यालयबाट धरौटीमा छुटेको र तारेकमा थिए ।

गत जेठमा जानुकाको घरमा आएर उनी तीन दिन बसेर गएका थिए । त्यो बसाई देखिनै हत्या गर्ने योजना बनाएको देखिएको प्रहरी उपरीक्षक पोख्रेलले बताए । तीन दिन बस्दा श्रीमानकै अगाडि दुव्र्यवहार गरेको जानुकाले बयानमा भनेकी छिन् । त्यसपछि नै उनीहरूले योजना बनाएको प्रहरीको भनाइ छ ।

असार ७ गते तारिक लिन आउँदा जानुकाको घरमा उनी आएका थिए । उनी ८ गते पनि त्यहीँ बसेको झापा प्रहरीले बताएको छ । ९ गते उनी तारेकका लागि इटहरी गएका थिए । इटहरीबाट दिउँसो २ बजे उनी जानुकाकै घरमा फर्किएका थिए । ९ गते नरेशलाई मार्ने गरी जानुका र उनका श्रीमान् बृख बहादुर थापाले दुई जना व्यक्ति परिचालन गरेको खुलेको मोरङ प्रहरीले जनाएको छ । सुरेश परियार र अर्का व्यक्तिलाई नरेशलाई मारे बापत ५ लाख दिने प्रस्ताव गरेको पोख्रेलले बताए । सुरेश अर्का एक व्यक्तिसहित ९ गते बिहानै जानुकाको घरमा पुगेका थिए । साँझामा नरेशसहित तीन जना बसेर मदिरा पिएका थिए । साँझ ८ः३० बजे भँुइतलाको उत्तर तर्फको कोठाको ढोकामा उभिरहेका नरेशलाई सुरेशले पछाडिबाट टाउकोमा मुड्कीले प्रहार गरेका थिए । सुरेशको प्रहारपछि भुईँमा ढलेका नरेशको मुख अर्का व्यक्तिले थुनेर फलामको मार्तोलले टाउकामा हानेका थिए ।

घटना लुकाउनका लागि उनीहरूले लासलाई बोरामा प्याक गरेर बृखबहादुर थापाले चलाउने प्रदेश न. १–०१–०१२ प ८५० नम्बरको मोटरसाइकलमा सुरेश र अर्का व्यक्तिले अर्जुन धारा ७ को साहसी टोलमा रहेको ह्युम पाइपमा राखेर फर्किएका थिए । काम सकिएपछि जानुकाले उनीहरुलाई सुरुमा २५ हजार, त्यसपछि १ लाख ७५ हजार दिएका थिए । बाँकी रकम भने दिएका थिएनन् । घटनामा संलगन तीन जना पक्राउ परेपनि एक जना फरार रहेको झापा प्रहरीले जनाएको छ ।

प्रहरीले ज्यान लिन प्रयोग भएका मोटरसाइकल, फलामको बिँड भएको मार्ताेल, काठको बिँड भएको फरुवा, खुकुरी, पानीले भिजेको अवस्थाको तन्ना २ थान, हाते झोला, रातो, कालो र सेतो रङको डोरी, मोबाइल तथा खाली बोतल नियन्त्रणमा लिएको छ ।