विराटनगर । विराटनगरका उद्योगीलाई पटक–पटक धाक धम्की दिँदै असुली धन्दा चलाउँदै आएका मुख्य गिरोहसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं। ६ घर भई हाल विराटनगर महानगरपालिका ४ कञ्चनवारिमा बस्ने ३९ वर्षीय गणेश कुमार कार्की र पथरीशनिश्चरे ६ का २६ वर्षीय विशाल ऋषिदेवलाई पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये कार्की मुख्य गिरोह हुन् । उनले विराटनगर – ३ घर भएका उद्योगी ४७ वर्षीय मुकेश शर्मालाई फोनमार्फत धम्की दिँदै पाँच लाख रुपैयाँ फिरौती मागेको प्रहरीको भनाई छ । उद्योगी शर्माको विराटनगर ७ मेन रोडमा अगर बत्तीको उद्योग रहेको छ । उनले विगत १८ वर्षदेखि अगरबत्ती उद्योग सञ्चालन गर्दै आएका छन् ।
पक्राउ परेका कार्कीले जेठ १३ गते उद्योगी शर्माको घरमा चिठ्ठी पठाएका थिए । पहिलो दिन स्कुलबाट फर्किएको शर्माको छोरालाई कार्कीले चिठ्ठी दिएको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको डिएसपी श्रेष्ठले बताए । ‘राजस्व छली गरेको, कर छलीको गरेको पैसा फिर्ता गर र भ्रष्टाचार नगर्न भन्दै दुई पटक उद्योगी शर्माको घरमा चिठ्ठी पठाएका थिए । ‘पहिलो दिन छोरा र दोस्रो पटक शर्माको आँगनमा चिठ्ठी पठाएको प्रारम्भिक चरणको अनुसन्धानबाट देखिन्छ,’ श्रेष्ठले भने, ‘त्यसपछि फोन मार्फत पटक–पटक डर धम्की दिई फिरौती रकम पाँच लाख मागेको अनुसन्धानबाट खुलेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘माग गरेको मध्ये २५ हजार अहिले असार १७ गते पढाइदिन्छु भनेका थिए । सोही अनुसार शर्माले आइएमई मार्फत पथरीशनिश्चरे नगरपालिका वडा नं। ६ हसन्दह स्थित रहेको आइएमईबाट झिकेपछि ऋषिदेवलाई पक्राउ गरेको हो ।’ फिरौती रकम माग गर्ने मुख्य गिरोह कार्कीले आइएमीमा पैसा झिक्न ऋषिदेवलाई पठाएका प्रहरीले जनाएको छ । ऋषिदेवलाई पक्राउ गरेपछि शुक्रवार कार्कीलाई घरदेखि पक्राउ गरेको डिएसपी श्रेष्ठले जानकारी दिए ।
उद्योगी शर्माको व्यवसायको विषयमा पक्राउ परेका कार्कीको जानकार रहेका थिए । व्यापार व्यवसाय गर्ने पत्तो पाएका कार्कीले धाक धम्की दिँदै फिरौती असुली गर्दै गर्दा पक्राउ परेका हुन् । कार्की यसअघि पनि आपराधिक क्रियाकलापमा संलग्न भएको देखिएको छ । उनले ललितपुरमा पनि ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले धम्की र असुलीका कारण अरू पनि पीडित भएको हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै अनुसन्धानको दायरा फराकिलो पारिएको जानकारी दिए । त्यस्ता गिरोहविरुद्ध प्रहरी कडा रूपमा प्रस्तुत भइरहेको उनको भनाइ छ । पैसा माग्दै कोही कसैलाई धम्क्याएको र बार्गेनिङ गरेको भए तत्काल प्रहरीमा जानकारी गराउन र घटना नलुकाउन एसपी कोइरालाले सबैमा आग्रहसमेत गरेका छन् ।
प्रहरीले पैसा माग गरिएको पत्र, आइएमई मार्फत पठाएको पैसा र त्यससँग सम्बन्धित कागजात बरामद गरिसकेको छ । पक्राउ परेका विरुद्ध ठगी तथा आपराधिक लाभअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको डिएसपी श्रेष्ठले बताए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।