विराटनगर । मोरङमा सहचालकले चलाएको स्कुल बसले ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु भएको खुलेको छ ।

रंगेली नगरपालिका–७ स्थित माउण्टेन मकालु बोर्डिङ स्कुलका सहचालक विजयी माझीले चलाएको बसले गत मंगलवार बिद्यार्थीलाई ठक्कर दिएको थियो ।

गत मंगलवार को १ क ११३० नम्बरको बसले सोही स्कुलमा अध्ययनरत दुई बालबालिकालाई दिउँसो ४ बजेतिर ठक्कर दिएको थियो ।

दुर्घटनामा रंगेली–५ का महादेव मण्डलका छोरा अन्दाजी ४ वर्षीय रितिक मण्डलको मंगलवार नै मृत्यु भएको थियो । दुर्घटनापछि गम्भीर घाइते भएका रितिकलाई उपचारका लागि स्थानीय टाइम्स अस्पतालमा पुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेका थिए ।

बसको ठक्करबाट एलकेजीमा पढ्ने रंगेली–६ का नरेश मण्डलकी छोरी अन्दाजी ६ वर्षीया सुनमकुमारी मण्डल गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा शुक्रवार बिहान मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको विराटनगरको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्कुल छुट्टि भएपछि पैदल नै घरतिर जानका लागि सुनमकुमारी र रितिक विद्यालय गेटमा आइपुगेका थिए । गेटमै गाडीले उनीहरूलाई ठक्कर दिएको रंगेली प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विद्यार्थी बोकेर स्कुलबाट निस्किएको बसले ‘ब्याक’ गर्ने क्रममा उनीहरूलाई ठक्कर दिएको हो ।

चालक राजकुमार श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपानेले बताए ।

चालकले सहचालक माझीले गाडी चलाएका बेला दुर्घटना भएको प्रहरीमा बयान दिएका छन् । सहचालक माझी फरार छन् । उनको खोजी कार्य जारी रहेको रंगेली प्रहरीले जनाएको छ ।