लोड हुँदैछ...

मेनु

कनकलक्ष्मी सहकारी प्रकरण : आरोपीले स्विकारे ३१ लाख, छानबिन समितिले भन्यो ३९ लाख हिनामिना

कनकलक्ष्मी सहकारी प्रकरण : आरोपीले स्विकारे ३१ लाख, छानबिन समितिले भन्यो ३९ लाख हिनामिना

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी विवेक खवासले खवासले ३१ लाख रूपैयाँ हिनामिना गरेको स्वीकार गरे पनि सहकारीको आन्तरिक छानबिन समितिले भने ३९ लाख हिनामिना गरेको अरोप लगाएको छ ।

सहकारीको सेवा केन्द्र गोठगाउँमा कार्यरत कर्मचारी खवासलाई सञ्चालक समितिले बर्खास्त गरेर सञ्चालक समिति सचिव यमप्रसाद सिग्देलको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।

समिति सदस्यमा लेखा समिति संयोजक युवराज आचार्य र लेखा प्रमुख विराटचन्द्र पोख्रेल छन् । समितिले ३९ लाख हिनामिना गरेको प्रमाण फेला पारेको र अझै रकम बढ्न सक्ने अनुमान रहेको सहकारी संस्थाका अध्यक्ष अर्जुनराज अधिकारीले बताए ।

उनलाई आज नै ठगी मुद्दामा चलाउन इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दिने तयारी भइरहेको उनको भनाइ छ । यसअघि खवासलाई सहकारीका सञ्चालक र कर्मचारीहरूले निगरानी गर्दै आएका थिए ।

प्रहरीसमक्ष नै उनले ३१ लाख रकम हिनामिना गरेको स्वीकार गरेपछि भदौ १० गतेसम्ममा हिनामिनाको रकम तिर्ने सहमति भएको थियो । हिनामिनाको रकम बढ्दै गएपछि आरोपी भाग्ने डरले कानूनअनुसारको कारबाही चलाउन लागिएको अध्यक्ष अधिकारीको भनाइ छ ।

विगत ५–६ महिनादेखि बचतकर्ताको रकम आफैं नक्कली हस्ताक्षर गरेर लाखौं रकम हिनामिना गरेको सञ्चालक समितिको आरोप छ । सफ्टवेयरको प्रयोगबाट कारोबार हुने गरे पनि उनले सफ्टवेयरको प्रयोग नै नगरी नक्कली कागजात बनाई रकम लाने गरेको उनीमाथि आरोप छ ।

बचतकर्ताले आफ्नो बचत रकम लिन आउँदा आफ्नो खातामा रकम नभएपछि हिनामिनाको घटना बाहिरिएको हो । सहकारीका प्रमुख कार्यकारी अधिकृत नै पुगेका बेला बचतकर्ता आफ्नो बचत झिक्न पुगेका थिए । बचत गरेको रकम खातामा नभेटिएपछि खवासलाई गछिया प्रहरी चौकीको जिम्मा लगाइएको थियो ।

आरोपीले १० लाख रूपैयाँ सहकारीलाई तिरिसकेको प्रमुख कार्यकारी अधिकृत शेखर भट्टराईले बताए । हिनामिना रकम खवासले अन्यत्र लगानी गरेको हुन सक्ने सञ्चालक समितिको अनुमान छ ।

शेयर सदस्यहरूले भने एक जना कर्मचारीले मात्रै हिनामिना गर्ने आँट नगर्ने बताउँदै बाह्य व्यक्तिबाट छानबिन गर्नुपर्ने माग राख्दै आएका छन् ।

रकम हिनामिनाको आरोप लागेका कर्मचारी गोठगाउँमा रहेको सेवा केन्द्रको काउन्टरमा बस्ने सहायक कर्मचारी हुन् ।

अहिलेसम्म जाहेरी भने नपरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds