लोड हुँदैछ...

मेनु

सरकारी कागजात किर्ते प्रकरणमा दोषी ठहरिएकी एमाले सांसदले गरिन् राजीनामा

सरकारी कागजात किर्ते प्रकरणमा दोषी ठहरिएकी एमाले सांसदले गरिन् राजीनामा

विराटनगर ।सरकारी छाप, दस्तखत र कागजात किर्ते गरेको अभियोग प्रमाणित भएको लामो समयपछि प्रदेश १ की एमाले सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छन् ।

बुधबार पदबाट राजीनामा दिएकी खातुनको राजीनामा सभामुख प्रदिपकुमार भण्डारीले बिहीबार स्वीकृत गरेका हुन्। मोरङबाट प्रतिनिधित्व गर्ने खातुनको मुद्दा दोहोर्याउने आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको अर्को साता उनले राजीनामा दिएकी हुन्। अघिल्लो साता मात्रै सर्वोच्च अदालतले खातुनविरुद्धको सरकारी सहीछाप र दस्तखत कीर्ते मुद्दा दोहोर्‍याउन अनुमति दिन अस्वीकार गरेको थियो।

सरकारी कागजात किर्ते अभियोगमा उच्च अदालत विराटनगरले दोषी ठहर गरेपछि खातुनले सर्वोच्चमा मुद्दा दोहोर्‍याउन माग गरेकी थिइन्।
तत्कालीन कद्माह गाउँ विकास समितिमा रहेको ३ विघा १० कट्ठा जग्गाको मोही पाउनका लागि खातुनले २०७१ चैतमा गाविस सचिवको सिफारिस आफैले गरेको र एकै दर्ता नम्बरका दुई वटा सिफारिस गरेको भन्दै किर्ते मुद्दा परेको थियो।

मोरङ जिल्ला अदालतले उनलाई २०७६ वैशाख ३१ गते दोषी प्रमाणित गर्दै एक वर्ष कैद सजायको आदेश दिएको थियो। अदालतको आदेश लगत्तै फरार रहेकी उनले जिल्लाको आदेशविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गरेकी थिइन्।

विराटनगर उच्च अदालतले २०७४ पुस ९ गते उनको बारेमा फैसला सुनाउँदै सजाय थपेको थियो । उनलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिवानाको फैसला भएको थियो। उच्चको फैसलाप्रति पनि अस्नतोष जनाउँदै सांसद खातुनले २०७६ फागुन ११ मा उनले सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन्। आफ्नो मुद्दामा त्रुटिपूर्ण फैसला भएको भन्दै सर्वोच्च गएकी उनले मुद्दा दोहोर्याउन माग गरेकी थिइन्। तर, गएको जेठ २५ मा सर्वोच्चले मुद्दा दोहोर्याउने आदेश दिनु नपर्ने फैसला गरेपछि उनको पद धरापमा परेको थियो।

जिल्ला अदालतको आदेश लगत्तैदेखि फरार उनले संसद्मा सुटुक्क आएर हाजिरी जनाउँदै तलबभत्ता भने बुझ्ने गरेकी थिइन्। प्रहरीले उनलाई खोज्दै आएको बताए पनि एमाले दबाबका कारण उनी प्रहरी नियन्त्रणमा पर्नबाट जोगिँदै आएकी थिइन्।

खातुनले राजीनामा दिएपछि प्रदेशसभामा एमालेको सांसद संख्या सभामुखसहित ३८ मा झरेको छ। यसअघि स्थानीय चुनाव लड्न एमालेका दुई सांसद्ले राजीनामा दिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।