विराटनगर । अविरल वर्षाका कारण घर डुबेर समस्या परेका स्थानीयहरुको सहयोगमा नेकपा माओवादी केन्द्रका नेता जीवन आचार्य सक्रिय बनेका छन् । मुख्यगरी मोरङको बुढीगंगा गाउँपालिका क्षेत्रमा भएको डुवानका कारण समस्यामा परेका स्थानीयहरुको उद्धार तथा राहतमा आचार्य प्रत्यक्ष रुपमा खटिएका छन् ।
प्रकृतिका कारण उत्पन्न विपद्ले सर्वसाधारण र विपन्न परिवारका व्यक्तिहरु बढी प्रभावित हुने भएकोले आचार्य गरिब र विपन्न बस्तीमा क्रियाशील बनेका हुन् । घर डुवानमा परेकाहरुलाई सुरक्षित स्थानमा सार्ने, अस्थायी बसोबासको प्रबन्ध मिलाउने, राहत सामग्री जुटाउने जस्ता कार्यमा आचार्य खटिरहेको नेकपा माओवादी केन्द्र बुढीगंगाका नेता कपिल सुनारले जानकारी दिएका छन् ।
मंगलबारको भारी वर्षाका कारण सिंघिया खोला भरिएर बुढीगंगा १ स्थित खापटोल तर्फ बाढीले जमिन कटान गर्न थालेको थियो । बस्ती क्षेत्रमा कटान हुनथालेपछि नेता आचार्यको पहलमा बस्तीका स्थानीयलाई सुरक्षित ठाउँमा सारेर बसोबास र राहतको प्रबन्ध गरिएको थियो । स्थानीय नेता सुनारले भने ‘वडा नं. १ स्थित खापटोलको बस्ती सिंघिया खोलामा आएको बाढीले कटान गर्न थालेपछि जोखिममा परेको थियो । युवा नेता जीवन आचार्यले उद्धारको लागि गाडीको प्रबन्ध गरिदिएपछि पीडितको उद्धार गरेर अन्यत्र सुरक्षित बस्ने व्यवस्था मिलायौं ।’
बुढीगंगा ३ का केही क्षेत्रमा डुवानको समस्या आएको भन्दै नेता आचार्यले स्थानीय पार्टीका नेता कार्यकर्ताहरुलाई राहत र उद्दारमा परिचालित हुन आग्रहसमेत गरेका थिए । सुरक्षाका लागि आवश्यक पूर्व तयारी गर्न भन्दै उनले डुवानको सूचना दिएर उद्दार र सहयोगका लागि जानकारी गराउन आग्रह गरेका थिए । सामाजिक सञ्जालमार्फत उनले सम्पर्क व्यक्तिहरुको नम्बरहरु सार्वजनिक गर्दै त्यस्तो आग्रह गरेका हुन् ।
नेता आचार्य मोरङको बुढीगंगा, सुन्दरहरैंचा आदि क्षेत्रको विकास निर्माणमासमेत निरन्तर क्रियाशील रहँदै आएका छन् । उनले त्यस क्षेत्रको खानेपानी, विजुली, सडक आदि पूर्वाधार विकासका लागि पहल गर्दै आएका कारण समस्यामा समते स्थानीयले उनीबाटै सहयोग हुने विश्वास गर्ने गरेका छन् ।