विराटनगर । विराटनगर १२ का एक युवा र झापा दमक–५की एक युवतीले पाँच सय रुपैयाँमा आफ्नो विवाह उत्सव सम्पन्न गरेका छन् ।
अष्ट्रेलियामा बसेर काम गर्दै आएका ३७ वर्षका विवेक गिरी र दमककी २४ वर्षीया एलिसा खतिवडाले भड्किलो बिहे अस्वीकार गर्दै पाँच सय रुपैयाँमा बिहेबारी सम्पन्न गरेका हुन् ।
पछिल्लो समयमा भड्किलो बिहेको चलन बढेका बेला उनीहरुले जिल्ला अदालत मोरङमा बिहे दर्ता गरेर सामान्य तरिकाले बिहे गरेका हुन् । अष्ट्रेलियामा होटल म्यानेजमेन्टपछि सोही पेशामा रमाइरहेका गिरी र पेशाले ब्यूटिसियन खतिवडाले बिहे दर्ता गर्न लाग्ने खर्चमा बिहे सम्पन्न गरेका हुन् ।
‘बिहेमा बढेको भड्किलोपन पछिल्लो समय हाम्रो समाजको ठूलो समस्या बन्दै आएको छ’, अदालतमा बिहे दर्ता गरेपछि नव दम्पत्तिले भने ‘बिहेमा अनावश्यक खर्च गर्ने, भड्किलोपन प्रदर्शन गर्ने चलन बढेको छ । हामीले त्यस्तो गर्न चाहेनौं ।’
पुराना वाम नेता टंक गिरीका छोरा विवेकले बिहेमा लाग्ने खर्च सामाजिक काममा खर्चिने बताएका छन् । उनका बुबा टंक गिरीले पनि जनवादी प्रकृतिको बिहे गरेका थिए । उनको बिहेमा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, डा. तुलसी गिरी, समाजवादी चिन्तक प्रदिप गिरि लगायतका नेताहरु सहभागी थिए । बुबाकै प्रेरणाबाट आफूहरुले सोही अनुसार बिहे गरेको नवदम्पत्तिले हाम्रोमतलाई बताए ।

