विराटनगर ।पहिलो पटक कार्यपालिकाको बैठकमा वडाध्यक्षहरुको ‘तारो’ बनेका हर्क साम्पाङ के गर्दैछन् ? के उनलाई काम गर्न सहयोग भइरहेको छ कि असहयोग भइरहेको छ ? भन्ने विषयमा सबैको चासो छ ।

उनले आफूलाई अहिलेसम्म त्यस्तो असहज केहीपनि नभएको बताएका छन् । ‘मलाई त्यस्तो कुनै असहजता छैन, सबैले सहयोग गरिरहनु भएको छ,’ उनले भने, ‘जे जस्तो आइलाग्छ त्यसलाई त्यस्तै तरिकाले मिलाउँदै जाने हो, म डराएको पनि छैन, मलाई अप्ठ्यारो लागेको पनि छैन ।’

पुराना नीति, नियय, कानून र प्रक्रियाले झण्झट भएको छैन भन्ने प्रश्नमा पनि उनले कुनै समस्या नभएको बताए । ‘हैट त्यस्तो अप्ठ्रो लागेकै छैन,’उनले भने । उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाले पनि प्रमुखसँग सहज ढंगले काम भइरहेको बताए । ‘काम गर्न एकदम सहयोग भएको छ, कतिपय नमिलेका विषयहरु मिलाउने गरी मैले पनि प्रमुखज्यूलाई सहयोग गरेको छु,’ बेघा भन्छन्, ‘उहाँ आफैं धेरै सक्रिय र बुझ्ने भएको कारण मलाई पनि सहज भएको छ, उहाँको एजेण्डा र मेरो एजेण्डा जनताकै समस्या समाधान गर्ने भएकोले कुनै अप्ठ्यारो छैन ।’
पहिलो कार्यपालिकको बैठकमा विवाद भएपछि दोस्रो बैठक बस्न नसक्दा बेघाले नै सहजीकरण गरेका थिए । जसका कारण साम्पाङले प्राविधिक पक्षमा काम गरिरहँदा बेघाले राजनीतिक शक्ति सन्तुलनको भूमिका खेलिरहेका छन् ।

साम्पाङ भने कहिले खोलाखोल्सा चाहर्दै त कहिले खानेपानीको आयोजनाको चुहावट रोक्न तल्लिन देखिन्छन् । उनी आफ्नो खानेपानीको एजेण्डामा लागिरहेका छन् । ‘दिनभरी जिमभित्र फलाम उचालेर बोसो घटाउने युवाहरुलाई पकुवा खोलामा प्राकृतिक वातावरणमा शारीरिक श्रम गरेर धरानलाई पानी खुवाउन सहयोग गर्न आव्हान गर्दछु,’ साम्पाङले गत शनिबार सामाजिक सञ्जाल फेसबुकमा आव्हान गरेका छन् ।
उनले आव्हान गरेजस्तै कतिपय युवाहरु शनिबार पकुवाखोलामा गएर खानेपानी धरान ल्याउने काममा खटिएका थिए । उक्त दृश्य हेरेर हर्क साम्पाङका एक युवाले भनेका छन्, ‘यो काम टेण्डर लगाएर ठेक्कामा गर्न थालेको भएयति समयमा कामपनि हुँदैन थियो र उपमहानगरपालिकाको कम्तीमा ५० लाख सकिने थियो ।’

स्वतन्त्र उम्मेद्वारी दिएर धरान उपमहानगरको प्रमुख पदमा विजयी बनेका हर्कराज साम्पाङको समय निक्कै व्यस्त छ । उनी प्रत्येक दिन नागरिक सचेतनाका काममा जुट्छन् । सरसफाइ, फोहोर व्यवस्थापन, पानीको स्रोत व्यवस्थापन, ट्राफिक सचेतनालगायतका काममा उनको व्यस्तता बढीरहेको छ । उनले लागू औषध प्रयोगको विरुद्धमा पनि सामाजिक सञ्जालमार्फत अभियान चलाइरहेका छन् ।