लोड हुँदैछ...

मेनु

टेलिकमको तार चोरी गर्ने गिरोह सक्रिय

टेलिकमको तार चोरी गर्ने गिरोह सक्रिय

विराटनगर ।विराटनगर महानगरपालिकाभित्र नेपाल टेलिकमको तार चोरी गर्ने गिरोह सक्रिय भएको पाइएको छ ।

विराटनगर क्षेत्रमा बिजुलीको पोलबाट लगिएको टेलिकमको तार चोरी गर्न गिरोह नै परिचालिन हुने उजुरी प्रहरीमा पुगेपछि चोरीको अवस्था अवगत भएको हो ।

विराटनगर क्षेत्रमा एकपछि अर्को गर्दै टेलिकमको तार चोरी हुने गरेको नेपाल टेलिकम विराटनगरका निमित्त कार्यालय प्रमुख लक्ष्मण महर्जनले जानकारी दिए । टेलिकमको तार चोरीको घटना बढेपछि जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको उनले बताए । ‘अहिले एकपछि अर्को गर्दै विराटनगर क्षेत्रमा टेलिकमको तार चोरीको घटना बढेको छ,’ उनले भने, ‘यसरी टेलिकमको तार चोरी हुँदा निश्चित एरियामा टेलिफोन सम्र्पक बिच्छेद हुने गरेको छ ।’ विराटनगरमा जस्तै बितामोडमा पनि टेलिफोनको तार चोरीको घटना बढेको उनले बताए । टेलिफोनको तारमा तामाको प्रयोग हुने भएकोले चोरीको समस्या विगतदेखिनै रहिआएको छ । तारबाट तामा निकालेर किलोको भाउमा बिक्री गर्ने गरिएको छ । चोरी गर्नेहरुले बजारमा प्रतिकिलो १५ सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको पाइएको छ ।

तार चोरीको आरोपमा दुई जना पक्राउ

प्रहरीले तामाको तार चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । विराटनगर १४ का रसिता खातुन र मो. अस्तावलाई पक्राउ आइतबार पक्राउ गरेको हो । उनीहरुले नेपाल टेलिकमको तार चोरी गरेको प्रहरीको आरोप छ । खातुनले तामाको तार चोरी गरेपछि अस्तावले चलाएको को २ ह ७२२४ नम्बरको अटोमा लोड गरी भारतर्फ लैजाने क्रममा इलाका प्रहरी कार्यालय रानी विराटनगरले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds