बेलबारी । मोरङको बेलबारी नगरपालिकाले महिला जनप्रतिनिधिलाई साडी वितरण गरेको छ ।
विरोध भएपछि उपमेयरका लागि नयाँ गाडी खरिद गर्ने निर्णयबाट पछि हटेको नगरपालिकाले नगर सभामा पोसाकका रुपमा महिला जनप्रतिनिधिलाई साडी वितरण गरेर फेरी चर्चामा आएको हो ।
असार ९ गते बसेको नगर कार्यपालिकाको बैठकबाट निर्णय गरेर उनीहरूलाई साडी दिइएको हो ।
उपमेयर नितु थापा कोइरालाले ६ हजार मूल्य बराबरको साडी खरिद गरेर महिला जनप्रतिनिधिहरूलाई दिएकी थिइन् ।
नगरपालिकाको लेखा शाखाले उनीहरूकै बैंक खातामा उक्त रकम पठाउने तयारी गरेको छ । लेखा शाखाका एक कर्मचारीका अनुसार कार्यपालिकाको निर्णयअनुसार बजेट पठाउने तयारी गरिएको हो ।
‘कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने हाम्रो दायित्व हो,’ ती कर्मचारीले भने, ‘भ्याटसहितको ६ हजार पठाउने तयारी गरेका छौँ ।’
कार्यालयले आफूहरूलाई भ्याट कटाएर ६ हजार रूपैयाँ नगरपालिकाले खातामा हालिदिएपछि उपप्रमुखलाई बुझाउने एक महिला जनप्रतिनिधिले बताइन् । ‘६ हजारमा ल्याएको भनिएको छ, साडी हेर्दा त्यति पर्ला जस्तो छैन,’ उनले भनिन् ।
उपमेयरसहित २४ जना जनताबाट निर्वाचित जनप्रतिनिधि हुन् भने ५ जना कार्यपालिकामा निर्वाचित भएका हुन् । २९ जनालाई ६ हजारका दरले साडी वितरण गर्दा १ लाख ७४ हजार नगरपालिकालाई भार परेको छ ।
यस्तै पुरुष जनप्रतिनिधिलाई नगर सभामा कागजपत्रहरू राख्न तीन हजार ५०० रूपैयाँ पर्ने झोला वितरण गरिएको छ । नगरपालिकाका जिन्सी शाखाका प्रमुख चतुर्भूज माझीका अनुसार उनीहरूलाई झोला वितरण गरिएको हो । तीन कार्यपालिका सदस्यसहित ३७ जनप्रतिनिधिलाई झोला वितरण गर्दा १ लाख २९ हजार ५०० रूपैयाँ खर्च भएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि १ अर्ब ३७ करोड ५२ लाख ८ हजार ४३३ रुपैयाँको बजेट सभामा पेश गरेको छ ।

