विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको छोराले नगरपालिकाको गाडी तोडफोड गरेका छन् । अध्यक्षका छोरा ज्योति गच्छदारले आफ्नै बुबाले प्रयोग गर्ने गाडी तोडफोड गरिदिएका हुन् ।

गाउँपालिकाको प्रदेश–१–को १ प ५७८ नम्बरको गाडी कार्यालय परिसरमै उनले तोडफोड गरेका हुन । मंगलवार बजेट निर्माण लगायत, विभिन्न समिति बनाउने विषयमा गाउँपालिकाकै भवनमा दिनभर छलफल भएको थियो ।

नेपाली काँग्रेसबाट बहुमतसहित निर्वाचित अध्यक्ष थारुले एमालेबाट निर्वाचित वडा अध्यक्षलाई कार्यपालिका भित्रका विभिन्न समितिहरूको जिम्मेवारी नदिइएको विषयमा विवाद हुँदा बैठक लम्बिएको थियो । बैठकमा अन्त्यमा अध्यक्षले एमालेका केही वडा अध्यक्षलाई केही समितिमा राख्ने सहमति दिएका थिए ।

एमालेलाई पेलेर जानुपर्छ भन्ने माग राख्दै आएका ज्योतिले बाबुसँग असहमति राखेर तोडफोड गरेको जनप्रतिनिधिहरू बताउँछन  । अध्यक्षले सबैलाई समेटेर जान भनेर केही समितिको संयोजक एमालेलाई दिने सहमति जनाएपछि असहमति जनाउँदै ज्योतिले गाडी तोडफोड गरेको एक जनप्रतिनिधिले बताए ।

अध्यक्ष गच्छदारले भने छोराले नै गाडीको सिसा फुटाएको स्वीकार गरेका छन् । उनले जो सुकैले गाडी फुटाएपनि कार्वाहि गर्ने बताएका छन् । ‘गाउँपालिकाका सबै मेरा लागि छोरा छोरी जस्तै हुन मैले सबैलाई सम्मान व्यवहार गर्नुपर्छ’, उनले भने ‘अहिले उपाध्यक्ष वडा अध्यक्षहरु सँग छलफल गरेर के कार्वाहि गर्ने भन्ने विषयमा निष्कर्षमा पुग्छौँ ।’

गाउँपालिकाका उपाध्यक्ष गुणावति देविथारुले भने गाडी किन तोडफोड भयो भन्ने विषयमा आफूलाई जानकारी नभएको बताउँछिन् । उनले आज बस्ने कार्यपालिकामा गाडी किन तोडफोडको विषमा छलफल हुने समेत उनले बताइन । उनी एमालेकी हुन ।