विराटनगर ।प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा चालू खर्च ढाकछोप गर्न बजेटको आकार बढाएको भन्ने आरोपको खण्डन गरेका छन् ।

प्रदेशसभाको मंगलबार बसेको बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरुले गरेको टिप्पणीको जवाफ दिँदै आङ्बोले उक्त कुरा बताएका हुन् ।

यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले स्रोत सुनिश्चित गर्ने आधार बिनै सरकारले प्रस्तुत गरेको बजेटमा चालू खर्च बढेको र त्यसलाई ढाकछोप गर्न बजेटको आकार बढाएर कार्यान्वयन हुनै नसक्ने बजेट ल्याएको आरोप लगाएका थिए ।

आङ्बोले भने बजेट पूर्ण रुपमा कार्यान्वयन गर्न सरकार सक्षम रहेको पनि बताए । चालू आर्थिक वर्षमा चालू खर्चतर्फ ४४ प्रतिशत र पूँजीगत तर्फ ४६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १० प्रतिशत हुने गरी बजेट ल्याइएको स्मरण गर्न सांसदहरुलाई आग्रह गरे । ‘चालू आर्थिक वर्षको संशोधित बजेटमा पनि ३६ प्रतिशत चालू र ५२ प्रतिशत पूँजीगत रहेको छ । भने वित्तीय व्यवस्थातर्फ १२ प्रतिशत पुगेको छ,’ अहिलेको आगामी आर्थिक वर्षका लागि चालू खर्च ३६ प्रतिशत मात्रै छ । पूँजीगत खर्च भने ५४ प्रतिशत राखेका छौं । कहाँ बढेको छ चालू खर्च ?,’ उनले प्रश्न गरे, ‘यसलाई जबर्जस्ती मिथ्यांक प्रस्तुत गर्न खोजिएको छ यसमा सत्यता छैन । चालू खर्चमा २१ प्रतिशत र पूँजीगत खर्चमा २० प्रतिशत वृद्धि भएको छ, बजेटको आकारसँगसँगै खर्चको आकार पनि बढ्छ ।’

उनले स्रोतको सुनिश्चितता बेगर बजेट नल्याइएको पनि प्रष्ट पारे । ‘चालू आर्थिक वर्षको बजेटभन्दा आगामी आर्थिक वर्षको बजेटको आकार ७ अर्ब २६ करोड ९१ लाख वृद्धि भएको छ,’ आङ्बोले भने, ‘त्यसको पहिलो स्रोत भनेको २ अर्ब ६ करोड ५८ लाख अन्तशुल्क र मूल्य अभिवृद्ध करमा भएको वृद्धि हो, दोस्रो सशर्त अनुदानतर्फ २ अर्ब ७१ करोड ८२ लाख बजेट वृद्धि छ । बाँकी २ अर्ब ४८ करोड ५१ लाख अलिक बढी छ । त्यसमा पनि करिब ९० करोड राजस्व वृद्धि हुन्छ । तपाईहरुले देखेको १ अर्ब ५१ करोड घाटा देखिन्छ । त्यो पैसा भनेको स्थानीय तहमा खर्च हुन नसकेको र प्रदेशमा रहेको कर्मचारीको तलबभत्ता, प्रशासनिक खर्च र ठेक्का लागिसकेर उबे्रको पैसा पनि २ अर्ब संघमा फिर्ता गर्दा पनि १ अर्ब ५१ करोड बजेट हामीसँग सञ्चित रहन्छ भन्ने देखिन्छ । त्यसो भएको कारण बजेट काहाँ घाटा छ ? स्रोतको विषयमा कुनै पनि चिन्ता गर्नुपर्ने अवस्था छैन ।’

एमाले सांसदहरुले चार महिनामै जाने सरकारले १० वर्षे रणनीतिक योजना किन ल्याएको प्रश्नको उत्तर दिँदै आङ्बोले भने, ‘सरकारले दुई महिना र चार महिना टिक्छु त्यति समयका लागि मात्रै योजना ल्याउँछु भनेर हुँदैन । सरकारले दीर्घकालीन सोचका साथ नै बजेट ल्याउँछ ।’
आफू अर्थमन्त्रीको हिसाबले अन्तिम कार्यकाल भएको भन्दै आङ्बोले यही नीति तथा कार्यक्रमको आधारमा आगामी आउने सरकारहरुले पनि काम गर्ने बताए । ‘अर्थमन्त्रीको हिसाबले मेरो अन्तिम कार्यकाल हो । म फेरी तेहो¥याएर अर्थमन्त्री हुन्न । फेरि यही गठबन्धनले सरकार बनाउँछ । यही नीति कार्यक्रममा, यही बजेटमा आधारित भएर सरकार चल्छ । अब ६ महिनापछि चुनाव आउँछ । चुनावबाट यही गठबन्धन आउने विश्वासका साथ कार्यक्रम ल्याइएको छ,’ उनले भने ।

उनले १०, २० लाख रुपैयाँ दिएर जनताले भोट हाल्छ भन्ने विश्वास आफूहरुलाई नभएको बताए । ‘राजनीतिक पार्टीले राजनीतिक कार्यक्रमका आधारमा चुनाव लड्ने हो । पैसा तथा योजना बाँडेर हामी जित्छौं भन्ने कुरामा हामी विश्वास गर्दैनौं,’ एमाले सांसदहरुले चुनाव लक्षित कार्यक्रम ल्यायो भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘हामीले विगतका ७० प्रतिशत आयोजनाहरुलाई प्राथमिकताका साथ राखेका छौं । नयाँ योजनाहरु भनेको ३० प्रतिशत मात्रै छ ।’

आङ्बोले जवाफ दिएसँगै आर्थिक वर्ष ०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल सकिएको छ । मंगलबारकै बैठकमा आर्थिक मामिला मन्त्री आङ्बोले बजेट कार्यान्वयन गर्न ल्याइएको आर्थिक विधेयक संसदमा छलफलको लागि प्रस्तुत गरेका थिए । उक्त छलफल पनि समाप्त भएको छ । बुधबार बस्ने संसदको अर्को बैठकमा विनियोजन विधेयकमा उल्लेखित विषयगत मन्त्रालयको विनियोजनमा छलफल सुरु हुनेछ ।