विराटगनर ।बजेटका कारण उत्पन्न हुनसक्ने केही उद्योगको समस्या समाधानको बाटो नखोजे प्रदेश १ का उद्योग वाणिज्य संघहरु आन्दोलनमा उत्रिने भएका छन् । मंगलबार विभिन्न तीन उद्योग वाणिज्य संघले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले समस्या समाधानमा तत्परता नदेखाए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । उनीहरुको मागप्रति मजदुर संगठनहरुलेसमेत ऐक्यवद्धता जनाएका छन् ।

बजेटले स्वदेशी केही उद्योगहरु अन्यायमा परेको भन्दै उद्योग संगठन, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश नम्बर १ ले माग पुरा गर्न अर्थ मन्त्रालयलाई बुधबारसम्मको समयसीमा दिएको छ । बुधबारसम्म माग पुरा नगरे आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।
उद्योगीहरुको मागमा नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), र समाजवादी ट्रेड युनियन, नेपालले संयुक्त विज्ञप्ति जारी गरेर ऐक्यवद्धता जनाइसकेका छन् ।

बजेट वक्तव्यमा फलामे कच्चा पदार्थ एमएस वायर रडको भन्सार महसुललाई ५ प्रतिशतबाट बढाएर १० बनाइएको छ । त्यस्तै भन्सार विन्दुमा एमएसमा लाग्दै आएको प्रतिकिलो २ रुपैयाँ ५० पैसाको अन्तःशुल्कलाई ४ रुपैयाँ ५० पैसा बनाइएको छ ।

अर्कातिर एमएसबाट उत्पादन गरिने जीआई वायरको पैठारी भने साफ्टाअन्तर्गत ६ प्रतिशत भन्सार महसुलमा गर्न सकिने व्यवस्था छ । यस्तो नीतिका कारण देशभरिमा एमएसमा आधारित १०० भन्दा बढी उद्योग बन्द हुने उद्योगीहरूको भनाइ छ ।

त्यस्तै नयाँ बजेटले तयारी सेनिटरी प्याडको पैठारी १.५ प्रतिशत भन्सार महसुलमा गर्न पाइने सुविधा दिएको छ । अर्कातिर देशका सेनिटरी प्याडहरूले पैठारी गर्ने कच्चा पदार्थको औसत भन्सार महसुल ७.५ प्रतिशत भएको उद्योगीको दाबा छ । आत्मनिर्भर भइसकेको सेनिटरी प्याड उद्योग सरकारी कदमका कारण बन्दको स्थितिमा पुगेको व्यवसायीको भनाइ छ ।