विराटनगर ।उद्योग संगठन मोरङले सरकारी ढुकुटीमा रहेको निष्क्रिय रकमलाई कोष बनाएर परिचालन गरी तत्काल तरलता अभाव हटाउन सुझाव दिइएको छ ।

नेपाल राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिमा समावेश गर्नका लागि लिखित प्रस्ताव पठाउँदै संगठनले निष्क्रिय रकम परिचालन गर्न आग्रह गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा राख्नु पर्ने नगद रिजर्भ अनुपातलाई घटाएर लगानीयोग्य तरलता बढाउँदै लैजान संगठनको सुझावपत्रमा उल्लेख छ ।

यसैगरी प्रतीतपत्र खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्नु पर्ने प्रावधान लागु हुँदा यसबाट सञ्चित भएको रकम उत्पादनमूलक उद्योग–व्यवसायमा प्रवाह गनुपर्ने सुझाव दिइएको छ । कर्जा–निक्षेप अनुपातको वर्तमान प्रावधानले रोकेको भन्दै पत्रमा उत्पादनशील क्षेत्रमा तरलता अभाव नहुने सुनिश्चितता गर्न यस क्षेत्रमा प्रवाह भएको कर्जालाई कर्जा–निक्षेप अनुपातमा गणना नगर्ने प्रावधान हुनुपर्ने माग समेत गरिएको छ