विराटनगर ।आगामी आर्थिक वर्षदेखि दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिने घोषणा गरेको प्रदेश १ सरकारले दैनिक २ लाख रुपैयाँ अनुदानमा खर्च गर्नुपर्ने भएको छ ।
प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्तुत गरेको बजेटमा अनुदानको विषय उल्लेख छ । त्यस अनुसार दूध उत्पादक किसानलाई अनुदान दिँदा दैनिक २ लाख रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान पनि सरकारको छ ।
‘व्यवसायिक रुपमा दूध, चैते धान र मकैै उत्पादन गर्ने विशेष उत्पादन क्षेत्रहरुमा उत्पादनका आधारमा प्रोत्साहन उपलब्ध गराउने व्यवस्था गरेको छु,’ बजेट वक्तव्यको बुँदा नम्बर ३७ मा उल्लेख छ, ‘दूध उत्पादक किसानलाई प्रतिलिटर दुई रुपैयाँका दरले किसानलाई सोझै प्राप्त हुने गरी उत्पादनमा आधारित प्रोत्साहन अनुदानको व्यवस्था मिलाएको छु ।’ उत्पादनमा आधारित प्रोत्साहन अनुदान उपलब्ध गराउन सरकारले १२ करोड ४५ लाख बजेटको व्यवस्था गरेको पनि उल्लेख गरेको छ ।
सरकारको यो कार्यक्रमबाट आगामी आर्थिक वर्षभरीमा २० हजार बढी घरपरिवार लाभान्वित हुनसक्ने प्रदेशस्थित कृषि मन्त्रालयको अनुमान छ । कृषि मन्त्रालयका सूचना अधिकारी कुमारसिंह खत्रीका अनुसार हाल प्रदेश १ मा सरदरमा प्रतिदिन ३ लाख लिटर दूध उत्पादन हुन्छ । तर, दैनिक ३ लाख लिटर दूध औपचारिक क्षेत्रमा आइनसकेको कारण अनुदान सबैले पाउने सम्भावना देखिएको छैन ।
दूध अनुदानमा दैनिक २ लाख रुपैयाँ खर्च हुने
‘प्रदेश १ मा दैनिक ३ लाख लिटरभन्दा बढी दूध उत्पादन हुने आँकलन छ,’ खत्रीले भने, ‘तर, औपचारिक क्षेत्रमा ७० हजार लिटरको हाराहारीमा मात्रै आएको हाम्रो अनुमान छ, अनुदान दिने कार्यक्रम आएपछि बढेर १ लाख लिटरसम्म पुग्न सक्छ ।’यदि प्रतिदिन १ लाख लिटर दूध औपचारिक बजारमा आए किसानलाई प्रदेश सरकारले दैनिक २ लाख रुपैयाँ अनुदान उपलब्ध गराउनु पर्नेछ । त्यस्तो अवस्थामा महिनाको ६० लाख र वार्षिक ७ करोड २० लाख रुपैयाँ किसानको घरमा पुग्नेछ ।
यसबाट धेरै किसानहरु लाभान्वित हुने खत्रीको भनाइ छ । यो पाइलट प्रोजेक्ट जस्तो भएको कारण हाल झापा, मोरङ, धनकुटा र इलाममा लागू गर्ने सरकारको तयारी रहेको खत्रीले बताए । ‘चार जिल्ला झापा, मोरङ, धनकुटा र इलाममा मात्रै २ लाख ५० हजार लिटर भन्दा माथि दूध उत्पादन हुन्छ,’ खत्रीले भने, ‘अहिले यी जिल्लामा मात्रै यो कार्यक्रम लागू होला, अन्य जिल्लामा औपचारिक क्षेत्रमा दूध आउने क्रम धेरै छैन ।’ चार जिल्लामा औपचारिक क्षेत्रबाट खरिद बिक्री भने दैनिक ६५ देखि ७० हजार लिटरसम्म हुने खत्रीले बताए ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।