संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर–दक्षिण सडक खण्डको खाँदबारी–किमाथांका सडक अवरुद्ध भएको छ ।
लगातारको वर्षासँगै आएको पहिरोले मकालु गाउँपालिका–३ नयाँ बस्तीमासडक खण्ड अवरुद्ध भएको हो ।

उत्तर–दक्षिण सडक अवरुद्ध हुँदा मकालुको वडा नम्बर ३ र ४ तथा भोटखोला गाउँपालिका जानेसडक ठप्प भएको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दिपेश रजकले जानकारी दिए । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिका र मकालुका केही वडासँग सम्बन्ध टुटेको छ ।

सडक कार्यालयका प्रमुख इन्जिनियर रजकका अनुसार दुई दिनदेखि मकालुका केही वडा र भोटखोला गाउँपालिका जाने सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । पहिरोले मकालु–५ र ३ जोड्ने अरुण नदीको मोटररेवल पुलसमेत जोखिममा परेको छ । पहिरोले पुल आसपासको भुभाग कटान गरेपछि अरुण नदीको पुल जोखिमा परेको हो ।

लगातारको बर्षाले उत्तर दक्षिण सडक खण्डका विभिन्न ठाउँमा पहिरो खसेको सडक कार्यालयका प्रमुख रजकले बताए । केही दिनयता त्यस क्षेत्रमा लगातार बर्षा भइरहेको छ । वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था नभएको सडक कार्यालयका प्रमुख रजकको भनाइ छ ।

अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै चलेका छन् ।