लोड हुँदैछ...

मेनु

धानखेतीमा खर्च धान्नै मुस्किल

धानखेतीमा खर्च धान्नै मुस्किल

विराटनगर ।सरकारले धानको उत्पादन वृद्धिमा जोड गरिरहेको भएपनि किसानलाई धान उत्पादनमा लाग्ने न्यूनतम खर्च नै आम्दानीले धान्न मुस्किल परेको पाइएको छ ।

धानखेती गर्न ट्याक्टरको भाडा, मल, श्रमशक्ति, औषधि, बिउ तथा थ्रेसर लगाउँदासम्मको खर्च जोड्दा मात्रै उनीहरुको उत्पादन र खर्च बराबरी हुने गरेको छ ।

‘धान लगाउनु भन्दा किन्नु सस्तो हुन्छ,’ कानेपोखरीका किसान हरि मैनाली भन्छन्, ‘१ विगाहा जग्गामा उत्पादन हुने धान र विक्री मूल्य हिसाब गरे भइजान्छ नि ।’ मैनालीले भनेजस्तै १ विगाहा जग्गामा धान लगाउने र बाली भित्र्याउने बेलासम्मको ट्याक्टरको भाडा, मल, श्रमशक्ति, औषधि, बिउ तथा थ्रेसर लगाउँदासम्मको खर्च जोड्दा करिब ६० हजार पुग्छ । तर, औषत उत्पादन ७० मनको हुँदा किसानलाई प्रतिमन १ हजार पाउँदा ७० हजार मात्रै आम्दानी हुन्छ ।

किसानहरुका अनुसार अहिले १ विगाहा खेत जोतेर रोपाई योग्य बनाउन ट्याक्टरलाई ६ घण्टा लाग्छ । प्रतिघण्टा २२०० रुपैयाँ ट्याक्टरलाई दिनुपर्ने भएकोले त्यसको खर्च १३ हजार २०० हुन्छ । यस्तै १ बोरा डिएपीको २५००, १ बोरा युरियाको २०००, रोपाहार १८ जनाको ६०० को दरले १०८००, बाउसे ४ जनाको ८ सयको दरले ३२००, झारको औषधि १०००, कान काट्न १०–१२ हजार, धान उठाउन ३–३५००, थ्रसर खर्च ६०० हाराहारी हुन्छ । ७० मन धान बिक्री गर्दा भने बढिमा ७० हजार आम्दानी हुन्छ ।

बचतबाट किसानले स्वास्थ्य उपचार, बालबालिकाको पढाइदेखि अतिरिक्त खर्च धान्नुपर्ने देखिन्छ । त्यति मात्रै होइन किसानले समयमा मल पाउँदैनन्, बिउ पाउँदैनन कसरी उत्पादन बढ्छ ? किसानहरुको गुनासो छ ।

प्रदेश सरकारले दिने भनेको उत्पादनको आधारमा अनुदान कार्यक्रमले कृषक उत्साहित हुन सक्छन् । तर, प्रतिमन वा प्रतिहेक्टर कुन हिसावले कति अनुदान दिने हो सरकारको स्पष्ट नीति अझै आइसकेको छैन । ‘हामीलाई प्रतिमन न्यूनतम २ सय रुपैयाँ पर्यो भने केही राहत हुन्छ,’ हिसाव देखाएपछि कानेपोखरीकै किसान लोकनाथ फुयाल बताउँछन्, ‘अहिले चैते धानको मूल्य ६५० छ, हामी अझै धेरै घाटामा छौं ।’

लक्ष्यको उल्टो प्रक्षेपण

प्रदेश १ सरकारले झापालाई धान खेतीको सुपर जानेको रुपमा विकास गर्नका लागि आवश्यक लगानी गरिरहेको जनाएको छ । धान उत्पादनको लागि झापा, मोरङ, सुनसरी उर्बर क्षेत्र हुन् । तर, प्रदेश १ सरकारकै आर्थिक सर्भेक्षण २०७९ का अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा प्रदेश नम्बर १ मा धान बालीको कूल उत्पादन १५ लाख ९४ हजार ६४ मेट्रिक टन रहेको छ ।
सोही सर्भेक्षण प्रतिवेदनमा चालू आर्थिक वर्षमा ०७८/०७९ मा भने प्रदेश १ मा १५ लाख ५६ हजार १ सय ७५ हुने प्रक्षेपण हुने अनुमान छ । ‘चालू आर्थिक वर्षमा मकै, गहुँ, तरकारकी, फलफूल, आलु, दलहन र तेलहनमा वृद्धि हुने बाँकी धान र अलैंची उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ,’ सोही प्रतिवेदनको बुँदा नम्बर ४.२५ मा उल्लेख छ ।

प्रतिवेदनहरुले धान उत्पादनमा ह्रास आउने भनिरहेको छ । यद्यपि केन्द्र सरकार र प्रदेश सरकारका आगामी आर्थिक वर्षको बजेट भाषणहरुमा उत्पादन वृद्धिको लक्ष्य राखिएको छ । प्रदेश १ सरकारले त धानमा पनि अनुदानका विभिन्न कार्यक्रम ल्याउने जनाएको छ ।
‘खाद्य सुरक्षाका लागि उत्पादन र उत्पादकत्व बढाउन उन्नत बिउ–बिजनमा कृषकको पहुँच अभिवृद्धि गर्न बिउ प्रशोधन तथा भण्डारणको पूर्वाधार निर्माण, उन्नत प्रविधि प्रयोग गरी धान, मकै, दलहन, तेलहन र रैगाने बाली उत्पादन कार्यक्रम संचालनका लागि १३ करोड ५० लाख बजेट विनियोजन गरेको छु,’ प्रदेश १ का आर्थिक मामिला तथा योजनामकन्त्री इन्द्रबहादुर आङ्बोले बजेट प्रस्तुत गर्ने क्रममा उल्लेख गरेका छन् । बजेट वक्तव्यमै प्रदेश सरकारले व्यवसायिक रुपमा दूध, चैते धान र मकै उत्पादन गर्ने विशेष उत्पादन क्षेत्रहरुमा उत्पादनको आधारमा प्रोत्साहन उपलब्ध गराउने उल्लेख गरिएको छ ।

उत्पादन बढाउनेमा चिन्ता

संरचनात्मक सुधार नभएसम्म उत्पादन नबढ्ने कृषि विज्ञहरु बताउँछन् । प्रदेश १ का अवकाश प्राप्त उपसचिव राजेन्द्र उप्रेतीका अनुसार धान उत्पादनमा सरकारले विभिन्न कार्यक्रम ल्याएको भएपनि कार्यान्वयनमा समस्या भएको बताए । ‘किसान अझै पनि आधुनिक कृषि उपकरण तथा औजारको प्रयोगमा पछि छन्,’ उप्रेतीले भने, ‘जसका कारण मानवीय श्रमले मात्रै उत्पादन पनि कम हुने र श्रम पनि बढीलाग्ने अवस्था छ ।’ प्रतिविगाहा न्यूनतम १ सय मन धान फलाउन सक्ने किसान मात्रै सामान्य नाफामा जाने उनको भनाइ छ ।

विगाहामा कम्तीमा १ सय मन धान फलाउन आवश्यक रहेको बताउँदै उनले उन्नत बिउबारे किसानले थाहा पाउनुपर्नेमा जोड दिए । आधुनिक औजार प्रयोग गर्ने र सरकारले उत्पादनको आधारमा अनुदान दिने नीति कार्यान्वयन गर्दा किसानलाई प्रोत्साहन हुने उनको भनाइ छ ।सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान विक्री हुने अवस्था भने रहेको उनको भनाइ छ । तर, किसानले भने आफूहरुले मूल्य नपाएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds