विराटनगर ।राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीले भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस)मा प्रविष्ट नगरी मालसामान ढुवानी गर्ने १९५ व्यापारिक फर्मलाई कारबाही गरेको छ ।

विभागले ती फर्मबाट चालु आर्थिक वर्षको जेठ मसान्तसम्मा ७७ लाख १४ हजार रूपैयाँ जरिवाना तिराएको छ ।
चालु आर्थिक वर्षको ११ महिनामा ट्रयाकिङ गर्दा भिसिटिएस नगरी मालसामान ढुवानी गर्ने १९५ व्यापारिक कम्पनी कारबाहीमा परेको राजस्व अनुसन्धान कार्यालय इटहरीका कार्यालय प्रमुख तिर्थराज खनालले जानकारी दिए । उनका अनुसार मोरङ, सुनसरी, झापाका विभिन्न १९५ वटा फर्मले भिसिटिएस उल्लंघन गरेको पाइएको छ ।

कारबाहीमा पर्ने सबैभन्दा धेरै मोरङका छन् । कारवाहीमा परेका फर्मले ५ हजारदेखि २ लाख रुपैयाँसम्म जरीवाना तिरेका छन् । विभागले २०७६ साल साउन १ गतेदेखि नै भिसिटिएस प्रणाली प्रयोगमा ल्याएको छ ।

भिसिटिएस राजश्व प्रशासन सुधारका लागि विभागले पछिल्लो समय विकास गरेको सूचना प्रणाली हो । यस प्रणाली अन्तर्गत इन्टरनेटबाटै व्यावसायिक फर्महरूले मालसामान ढुवानी कसरी गर्छन् भन्ने जाँच गरिन्छ । यो प्रणालीमा सामान ढुवानी हुनुभन्दा अघि के, कहाँ, कति, ढुवानीलगायत सबै विवरण प्रविष्ट गर्नुपर्ने नियम छ । ढुवानीको सुरूको विन्दु र अन्तिम विन्दुसम्मै विभागले ट्रयाकिङ गरिरहेको हुन्छ ।
‘यसले राजश्व चुहावटको सम्भावना कम गरेर राजश्व प्रशासनमा सुधार आउँछ भन्ने हाम्रो विश्वास हो,’ खनालले भने । सामान पुग्नुभन्दा अगाडि अनगोइङ र पुगेपछि डेलिभरीको सूचना अनलाइनमै प्राप्त हुन्छ । ‘कुन चालकले सामान साधन चलाइरहेको हो त्यो पनि थाहा हुन्छ,’ उनले भने, ‘त्यो साधन कहाँ–कहाँ पुग्छ भन्ने सबै थाहा हुन्छ, कसले किनेको कसले बेचेको थाहा हुन्छ ।’

कारवाहीमा परेका फर्महरु

भिसिटिएसमा प्रविष्ट नगरी मालसामान ढुवानी गर्ने विराटनगरका प्रतिष्ठिन उद्योगी घरनाका व्यवसायी फर्म पनि कारवाहीमा परेका छन् । भिसिटिएसमा प्रविष्ट नगरी मालसामान आयत गर्दा कारवाहीमा परेको चार वटा फर्मले जनही २ लाख रुपैयाँ जरीवाना तिरेका छन् ।
अलि टे«डर्स सेन्टर विराटनगर, सोनी जनरल स्टोरी इटहरी, शिव मोटर पार्टस् विराटनगर, आर्य इम्पेक्स विराटनगरले जनही २/२ लाख रुपैयाँ जरिवना तिरेका हुन् । यसैगरि १ लाख ५० हजार रुपैयाँ जरिवना तिर्ने रिया मार्केटिङ्ग, युनिस्का टेड कन्सर्न र साह क्लिनिङ एण्ड जनरल सप्लायर्स छन् ।

विभागका अनुसार १ लाख रुपैयाँ जरीवाना तिर्ने १२ वटा फर्म रहेका छन् । इन्द्रेणी सप्लायर्स सुन्दरहरैचा, स्वस्तिक आयल इण्ड्रष्टिज प्रालि, आध्या टायर जोन, चाँदनी फोम इण्ड्रष्टिज प्रालि, फाइनल सोलुसन प्रालि उर्लाबारी, स्वाभिमान सन्स एण्ड सप्लायर्स झापा, श्री नवदुर्गा इन्टरप्राइजेज विराटनगर, मिनलक्ष्मी अटो इन्टरप्राइजेज इटहरी, साह हार्डवेयर सप्लायर्स विराटनगर र जय माता दी ईट्टा उद्योगले जनही १÷१ लाख रुपैयाँ जरीवाना तिरेको राजस्व अनुसन्धान कार्यालय इटहरीको अभिलेखमा देखिन्छ । यस्तै ३४ फर्मले ५० हजार रुपैयाँ जरिवना तिरेका छन् । यस्तै विराटनगरको महालक्ष्मी केवलले पनि २५ हजार रुपैयाँ जरिवाना तिरेको छ ।

भिसिटिएसमा प्रविष्ट नगरी मालसामान आयात गरेपछि महालक्ष्मी केवलले गत माघ १३ गते जरीवाना तिरेको अभिलेखमा देखिन्छ ।