ताप्लेजुङ । दुई जनाको मृत्यु भइसकेको सिरिजंगा गाउँपालिका ७ खेवाङमा पहिरोका कारण ५३ परिवार विस्थापित भएका छन् । वडाध्यक्ष बुद्ध दाहालका अनुसार पानी पर्ने क्रम नरोकिएकाले विस्थापित हुने क्रम अझै बढ्ने देखिएको छ ।

पहिरोको कारण एकदेखि अर्काे बस्तीमा जाने उपाय नभएकाले समस्या जटिल रहेको स्थानीय बताउँछन् । तेम्फु र तुमाङखे क्षेत्रका मानिस सबैभन्दा बढी विस्थापित भएका छन् । शुक्रबार तेम्फुका ३० र आज तुमाङखेका २३ घर विस्थापित भएको दाहालले बताए ।

अर्काे बस्ती जाने उपाय नभएकाले उनीहरु आफन्त, छरछिमेक भेला भएर डाँडामा बसेको बताइएको छ । शुक्रबार विस्थापित भएकामध्ये कतिपय कञ्चनजंघा आधारभूत विद्यालय तीन ढाँडेमा गएर बसेका छन् ।

सुर्के, सिवोक, गुरासे, तुम्याङको शिरानबाट झरेको पहिरोले जोखिम बढाएको दाहालले बताए । दुई वर्षअघि बनाएको स्वास्थ्य चौकी भवन पनि पहिरोले तान्न थालेको छ । बिहीबारको बाढीले सिवाखोला विद्युत गृहको मुहान बगाएपछि विद्युत सेवा अवरुद्ध छ ।

विद्युत नहुँदा यहाँको टेलिफोन टावर मज्जाले घाम लाग्दा मात्रै चल्छ । ११ बजेमात्रै आफूले पनि सम्पर्क गर्न सकेको दाहालले बताए । गाउँपालिकाबाट आफू र विस्थापित आफ्नो वडाका बासिन्दाले सहयोग पाउन नसकेको गुनासो वडाको छ ।

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले सशस्त्र र नेपाल प्रहरीको टोली पठाएपनि पहिरोका कारण पुग्न नसकेको बताए । रेडक्रससँग समन्वय गरेर राहत सामग्री पठाउन पहल गर्ने र गृह मन्त्रालयमा पनि जानकारी गराउने पोख्रेलले बताए ।

साग दिनको गणेश मावि र कञ्चनजंघा आधारभूत विद्यालय तुलनात्मक रुपमा सुरक्षित रहेकाले विस्थापितलाई त्यही ल्याएर राख्न प्रयास भइहरेको छ । कांग्रेस जिल्ला कार्य समितिका सभापति गजेन्द्रप्रसाद तुम्याहाङका अनुसार कसैको घरमाथि पहिरो गएको छ भने कसैको मुनिबाट तानेको छ । पानी परिरहेकाले उद्धारमा कठिनाई भएको उनको भनाइ छ ।

पहिरोले पुरेर बिहीबार एकाघरका सासु बुहारीको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । घाइतेको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । बिहीबार बिहानको पहिरोले फक्ताङलुङ गाउँपालिका २ खेजेनिममा एक घर बगाएको र वडा नं. १ सावादिनमा पशुचौपाया बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।