विराटनगर । संयुक्त अरब इमिरेट्स (युएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीन दिने नेपाल भ्रमणको क्रममा झापा आइपुगेका छन् ।

बिएण्डसी मेडिकल कलेज विर्तामोडका सञ्चालक दुर्गा प्रसाईंको निमन्त्रणामा शनिबार बिहान ११ः१५ बजे श्री एयरलाइन्सको जहाजबाट राजकुमार माक्तुम झापा आइपुगेका हुन् ।

प्रसाई सञ्चालक रहेको पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडले सञ्चालमा ल्याएको क्यान्सरसम्बन्धी प्रयोग हुने उपकरण राजकुरमा माक्तुमले उद्घाटन गर्ने कार्यक्रम छ । उनले आइतबार अस्पतालमा रहेको पेटको सिटिस्क्यान गर्ने मेसिन उद्घाटन गर्नेछन् ।

तीन दिने भ्रमणका दौरान नेपाल आएका राजकुमार राजकुमारले प्रस्तावित बिएण्डसी मेडिकल कलेजको भ्रमण, झापाका पर्यटकीय क्षेत्रहरूको भ्रमण गर्दै इलामसम्म पुग्ने कार्यक्रम छ । उनी सोमबार पोखरा जाने कार्यक्रम पनि छ । त्यसको सम्पूर्ण चाँजोपाजो बिएण्डसी अस्पतालले मिलाएको बताइएको छ ।

युएईका राजकुमारको भ्रमणमा प्रसाईंले तीन दिन श्री एयरको क्यू ४०० जहाज रिजर्ब गरेका छन् । श्री एयरको ८० सिट क्षमताको क्यू–४०० जहाज शनिबारदेखि तीन दिनका लागि राजकुमार ‘रिजर्ब’ गरिएको हो ।

झापास्थित भद्रपुर विमानस्थलमा सोही जहाजबाट राजकुमार माक्तुम उत्रिएका थिए । जहाले तीन दिन अन्य यात्रुहरू नबोक्ने बताइएको छ । काठमाडौंबाट भद्रपुर, भद्रपुरबाट पोखरा, पोखराबाट काठमाडौं विमानस्थलसम्म सो जहाज जाने तय भएको छ । राजकुमारको टोलीमा ७ जना छन् । शनिबार काठमाडौंबाट भद्रपुर आउँदा श्रीले उनीहरूलाई मात्रै उडाएको थियो ।

प्रसाईंले क्यान्सर सम्बन्धी उपचारका लागि उक्त मेसिन खरिद गर्ने प्रक्रिया दुई वर्षअघि नै थालेको बताएका छन् । उक्त मेसिन ३५ करोड रुपैयाँमा नेपालमा ल्याएर आफ्नो अस्पतालले सञ्चालनमा ल्याउन लागेको उनको दावी छ । मेसिन युएईबाट ल्याइएको हो ।