विराटनगर । ठेकेदार कम्पनीको लापरबाहीपूर्ण तरिकाले गुणस्तरहीन काम गरेको पाइएपछि मोरङको बुढीगंगा गाउँपालिका–४ कार्यालयको नयाँ भवन निर्माणको काम रोकिएको छ । स्थानीयको विरोधपछि मापदण्ड बिपरित गुणस्तरहिन काम गरेर भवन निर्माणको काम रोकिएको हो ।
वडा कार्यालयको भवन निर्माणमा कमसल कच्चा पदार्थको प्रयोग गरेको कारणले भवन निर्माण गुस्तरहीन देखिएको बुढीगंगा गाउँपालिका ३ का नुर मोहमदले बताए । सम्झौतापत्रमा उल्लेख नभएको निर्माण सामाग्रीको प्रयोग गरेपछि स्थानीय विरोधमा उत्रिएका हुन् ।
सम्झौतामा १ नं. इट्टा प्रयोग गरिनुपर्ने र निर्माणमा ओपीसि सिमेन्ट लगाउनुपर्ने उल्लेख गरिएको छ । तर, भवन निर्माण स्थलमा ३ नं. इटा र ओपीसीभन्दा प्रतिबोरामा २ सय रुपैयाँ सस्तो पिपिसी सिमेन्ट प्रयोग गरेको भेटिएको नुरको भनाइ छ ।
‘सम्झौतामा १ नं. इट्टा प्रयोग गरिनुपर्ने तोकिएको छ । तर, ठेक्केदारले अहिले ३ नं. इट्टा धमाधम झारेर निर्माणमा प्रयोग गर्दै आएको छ । स्थानीयले खबरदारी गरेपछि अहिले निर्माण कार्य रोकेका हौं,’ स्थानीय नुरले भने, ‘गुणस्तरहिन काम भएको पाइएपछि निर्माण कार्य रोकेर छानविनको माग गरेका छौं ।’
वडा कार्यालयको भवन गुणस्तरीय हुनुपर्ने र स्टिमेटमा उल्लेख भएअनुसारको काम हुनुपर्ने माग राख्दै बुधबार स्थानीयले विरोध गरेपछि भवन निमाार्णको काम रोकिएको छ । ‘वडाको नयाँ भवन निर्माणमा ३ नम्बर इट्टा हालेर काम गर्दा गाउँपालिका र वडाका कार्यालयका जनप्रतिनिधिहरू चुप लागेपछि हामी विरोधमा उत्रिएका हौं,’ उनले भने, ‘कमसल सामाग्री प्रयोग गरेको कारणले बनिसकेको वाल भत्किन र छत चर्किन थालेको छ ।’
निर्माण कम्पनीले पाँच टिफरभन्दा धेरै ३ नम्बर इट्टा निर्माणस्थलमा झारेको स्थानीय बताउँछन् । स्टिमेट अनुसार एक एक बोरा सिमेन्टमा चार तगारी बालुवा हानुपर्ने उल्लेख छ । तर, यहाँ एक बोरा सिमेन्टमा ६ देखि ८ तगारि बालुवा हालेको पाइएको स्थानीयको भनाइ छ । त्यही भएर अहिले छत ढलाइ चर्किन थालेको बुढिगंगा ४ का श्यामलाल मmाभीले बताए ।
सिँढीमा प्रयोग गरेको रड पनि मापदण्ड अनुसारको नहालेको स्थानीयको भनाई छ । स्टिमेटमा १० देखि १२ सुताको रड प्रयोग गरिनुपर्ने उल्लेख छ । सिँढीमा ४ सुताको रड हालेको पाइएको छ,’ उनले भने, ‘भवन निर्माणमा भइरहेको कामको गाउँपालिकाले प्राविधक राखेर छानविन गरिनुपर्छ ।’
लापरवाहीपूर्ण काम गर्ने ठेक्केदार कम्पनी र गुणस्तरहिन निर्माणमा मिलेमेतामा संलग्न हुनेलाई कारवाही गरिनुपर्ने माग राख्दै स्थानीयले दिनभरी वडा कार्यालय अगाडी प्रदर्शन गरेका छन् । २०७७ माघ २० गते बुढीगंगा गाउँपालिकालले पारस कन्ट्रक्सन एण्ड सप्लायर्स दुहबीलाई ७९ लाख ९ हजार ६४१ रुपैयाँमा ठेक्का दिएको थियो । २०७८ मंसिर २९ गतेसम्म निर्माण पुरा गरिसक्ने सम्झौता उल्लेख भएको थियो ।
सम्झौता गरेको मितिमा निर्माण पुरा नभएपछि म्याद थप गरेको थियो । २ कठ्ठा क्षेत्रफलमा दुई तलाको वडा कार्यालयको नयाँ भवन बन्दैछ । ठेकेदारले निर्माण पुरा नसक्दै १४ लाख ७६ हजार ३ सय रुपैयाँ भुक्तानी लिइसकेका छन् । वडा कार्यालयको अहिले छत ढलाइ भएर वाल उठाउने काम भएपछि निर्माण रोकिएको छ । बुढीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृताकुमारी गच्छदारले निर्माणधिन वडा कार्यालयको भवन बुधबार अनुगमन गरेकी छिन् । उनले निमार्णको क्रममा गुणस्तरीहिन काम भएको देखिएपछि ठेकेदार कम्पनीलाई कारवाही गरिने बताइन् ।
‘सरसरी भवन हेर्दा बिमहरू बांगो देखिएको छ । यसमा ठेकेदारको कमि कमजोरी देखिएको छ,’ उनले भनिन्, ‘बांगो बिमहरु हटाएर गुणस्तरीय काम गर्न हामीले निर्देशन दिनेछौं ।’ गुणस्तरहिन काम गर्ने ठेकेदारलाई कानुन अनुसार कारवाही गर्ने उनको भनाइ छ ।

