लोड हुँदैछ...

मेनु

अरुण तेस्रोमा कार्यरत मजदुरको रहस्यमयी मृत्यु

अरुण तेस्रोमा कार्यरत मजदुरको रहस्यमयी मृत्यु

संखुवासभा ।गत शनिबार कैलालीको लम्कीचुवा नगरपालिका–३ चिसापानीका ५० बर्षिय अमर बहादुर महतारा अरुण तेस्रोको ड्याम साइड फ्याक्सिन्दा क्याम्प नजिकै मृत अवस्थामा फेला परे ।

संखुवासभामा निर्माणाधीन ९ सय मेगावटको अरुण तेस्रो आयोजनाको ड्याम साइड मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा कार्यरत मजदुर अमर बहादुर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
शनिबार मृत फेला परेको अमर बहादुरको शव आफन्तले बुझ्न नमानेपछि चार दिनदेखि जिल्ला अस्पतालमै छ ।

अरुण तेस्रोमा कार्यरत अमर बहादुरको रहस्यमयी मृत्यु भएको भन्दै आफन्तले चार दिन शव बुझ्न मानेका छैनन् । आफ्नो श्रीमानको रहस्यमयी मृत्यू भएको भन्दै कैलालीबाट श्रीमती संखुवासभा आई पुगेकी छन् । शनिबार दिउँसो मृत फेला परेका अमर बहादुरको शव प्रहरीले जिल्ला अस्पतालमा ल्याएको थियो ।

आफ्ना श्रीमानको मृत्यु रहस्यमयी भएको मृतककी श्रीमती कमला महतारा बताइन् । घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सरोज कोइरालाले जानकारी दिए ।

प्रहरी जानकारी नै नदिई लाश उठाएको श्रीमती कमलाको भनाइ छ । अमर बहादुर गत जेठ १२ गते अरुण तेस्रोमा काम गर्ने संखुवासभा आएका थिए । अरुण तेस्रोले क्षतिपुर्ती नदिएसम्म शव नबुझ्ने पीडितका आफन्तले बताएका छन् ।

घटनाका विषयमा कम्पनी जिम्मेवार नभएको उनीहरुको आरोप छ । न्याय माग्दै मृतककी श्रीमतीसहित आफन्तहरु जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयमा घटनाको छानविन गर्न लिखित मागसमेत गरेका छन् । फोनमार्फत शव बुझेर लैजान पटक–पटक दबाब दिने गरेको उनीहरुको भनाई छ ।

घरैबाट कामदारको रुपमा निर्माण कम्पनीले ल्याएको उनकी श्रीमतिले बताईन् । जबरजस्ती तरिकाले गाडी भाडासमेत लगाएर ठेकेदार कम्पनीका बालेन्द्र शाही नामका व्यक्तिले ल्याएको उनको दावी छ ।

मृतक परिवारलाई उचित क्षतिपुर्ती दिलाउन प्रयास गरिरहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए । अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय र नेपालीसहित ३ हजारभन्दा धेरै मजदुर कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।