संखुवासभा ।गत शनिबार कैलालीको लम्कीचुवा नगरपालिका–३ चिसापानीका ५० बर्षिय अमर बहादुर महतारा अरुण तेस्रोको ड्याम साइड फ्याक्सिन्दा क्याम्प नजिकै मृत अवस्थामा फेला परे ।
संखुवासभामा निर्माणाधीन ९ सय मेगावटको अरुण तेस्रो आयोजनाको ड्याम साइड मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा कार्यरत मजदुर अमर बहादुर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
शनिबार मृत फेला परेको अमर बहादुरको शव आफन्तले बुझ्न नमानेपछि चार दिनदेखि जिल्ला अस्पतालमै छ ।
अरुण तेस्रोमा कार्यरत अमर बहादुरको रहस्यमयी मृत्यु भएको भन्दै आफन्तले चार दिन शव बुझ्न मानेका छैनन् । आफ्नो श्रीमानको रहस्यमयी मृत्यू भएको भन्दै कैलालीबाट श्रीमती संखुवासभा आई पुगेकी छन् । शनिबार दिउँसो मृत फेला परेका अमर बहादुरको शव प्रहरीले जिल्ला अस्पतालमा ल्याएको थियो ।
आफ्ना श्रीमानको मृत्यु रहस्यमयी भएको मृतककी श्रीमती कमला महतारा बताइन् । घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सरोज कोइरालाले जानकारी दिए ।
प्रहरी जानकारी नै नदिई लाश उठाएको श्रीमती कमलाको भनाइ छ । अमर बहादुर गत जेठ १२ गते अरुण तेस्रोमा काम गर्ने संखुवासभा आएका थिए । अरुण तेस्रोले क्षतिपुर्ती नदिएसम्म शव नबुझ्ने पीडितका आफन्तले बताएका छन् ।
घटनाका विषयमा कम्पनी जिम्मेवार नभएको उनीहरुको आरोप छ । न्याय माग्दै मृतककी श्रीमतीसहित आफन्तहरु जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयमा घटनाको छानविन गर्न लिखित मागसमेत गरेका छन् । फोनमार्फत शव बुझेर लैजान पटक–पटक दबाब दिने गरेको उनीहरुको भनाई छ ।
घरैबाट कामदारको रुपमा निर्माण कम्पनीले ल्याएको उनकी श्रीमतिले बताईन् । जबरजस्ती तरिकाले गाडी भाडासमेत लगाएर ठेकेदार कम्पनीका बालेन्द्र शाही नामका व्यक्तिले ल्याएको उनको दावी छ ।
मृतक परिवारलाई उचित क्षतिपुर्ती दिलाउन प्रयास गरिरहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए । अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय र नेपालीसहित ३ हजारभन्दा धेरै मजदुर कार्यरत छन् ।

