विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–३ का ६४ वर्षीय जितबहादुर गिरीले आफ्नै भाइबाट तीन वटा करङ भाँचिने गरि निर्घात कुटपिट गर्दा पनि प्रहरीले पक्राउ नगरेको गुनासो गरेका छन् ।
करूङ भाँच्नेगरि कुटपिट गरेको एक महिना बितिसक्दा पनि इलाका प्रहरी कार्यालय पथरीले कुटपिट गर्ने पथररीशनिश्चरे–३ का ५० वर्षीय हरीबहादुर गिरीलाई पक्राउ नगरेको पीडितले गुनासो गरेका हुन् ।
पीडित गिरीले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरि मरणासन्न हुने गरि कुटपिट गर्ने हरीबहादुर गाउँघरमा खुल्लेआम हिँड्दा पनि पथरी प्रहरीले पक्राउ नगरेको बताए । २४ वैशाखमा ५ बजेतिर शनिश्चरे बजारमा हरीबहादुरसहितका ४÷५ जनाको समूहले रड र चिरपटले कुटपिट गरेको गिरीको भनाई छ ।
आक्रमणबाट करङ र दाँया कुममा चोटपटक लागेको उनले बताए । एक हप्ता हस्पिटल बसेपछि अहिले स्वास्थ्य ठिक भएको उनले सुनाए । ‘स्थानीय तहको चुनावको प्रचारप्रसार गरेपछि शनिश्चरे बजारमा बसेका थियौं । पुरानो रिसीबिलाई लिएर आफूमाथि गुण्डागर्दी शैलिमा हरीबहादुरसहितको ५÷६ जनाको समूहले आक्रमण गर्न थालेपछि म ढलेछु,’ पीडित गिरीले भने, ‘रड, चिर्पट र लात्तामुक्का प्रहारले आफ्नो तीन वटा हड्डी भाँचिएछ ।’ रड प्रहारबाट हातको कुइनाको जोड्नी खुस्किएर अंगभंग भएको कोशी अस्पतालमा गरिएको एक्स–रे रिपार्टले पनि पुष्टि भएको छ ।
घाइते भएपछि हस्पिटलबाट आफन्तले आक्रमण गर्नेविरुद्ध इप्रका पथरीका डिएसपी बेदप्रसाद गौतमलाई जानकारी पनि गराएका थिए । त्यस दिन उनलाई पक्राउ गरेको प्रहरीले कार्वाही नगरी छाडिदिएको पीडितको भनाइ छ । एक हप्ता उपचार गरेपछि इप्रका पथरीमा उजुरी दिन जाँदा डिएसपी गौतमलले उजुरी लिन नमानेको पीडित गिरीले बताए ।
‘डिएसपीले मलाई हप्काएर प्रहरी कार्यालयदेखि पढाइदिए’ पीडितले भने । प्रहरीले जाहेरी दर्ता नगरेपछि जिल्ला सरकारी वकिलको कार्यालय विराटनगरमा पुगेको उनले बताए । सरकारी वकिलको कार्यालयको साहराले मात्र पथरी प्रहरीले जाहेरी दर्ता गरेको उनको भनाइ छ ।
आरोपीविरुद्ध १६ जेठमा कुटपिट, अंगभंग कसुरमा जाहेरी दर्ता भएको सुनेको भएपनि प्रहरीले आरोपीलाई पक्राउ नगरेको पीडितको भनाइ छ । आरोपलाई डिएसपी गौतमले नै संरक्षण दिएको उनले आरोप लगाएका छन् ।
घटनास्थल नजिकै प्रहरी चौकी शनिश्चरे छ । त्यहाँको चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरीको नेतृत्व रहेको छ । तर, डिएसपी गौतमले पक्राउ गर्न आदेश नदिएको कारणले आरोपीको घर प्रहरी चौकी छेउमै हुँदा पनि पक्राउ गर्न चासो नै नदेखाएको गिरीले बताए । पथरी प्रहरीका प्रमुखको भूमिकाप्रति शंका व्यक्त गर्दै अनुसन्धानको लागि १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरमा पनि २० जेठमा पनि आवश्यक कारवाही गरि पाउभनि हुलाकमार्फत निवेदन पठाएको उनले बताए ।
इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी गौतमले भने उजुरी दर्ता गरेर अहिले घटनाको अनुसन्धान भइरहेको बताए । ‘उजुरी दर्ता भइसकेको छ । घटनामा संलग्न फरार छन्’ उनले भने, ‘हामीले खोजीकार्य जारी राखेका छौं । सुरुमा घाइतेले ठाडो उजुरी मात्र दिएकोले कार्वाही नचलाएको हो ।’
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले घटनाको विषयमा बुझेर मातहतका प्रहरीलाई निर्देशन दिने बताए । ‘प्रहरीले जाहेरी नलिने भन्ने कुरै हुदैन,’ उनले भने, ‘घटना के रहेछ, त्यस विषयमा बुझेर अगाडि बढ्नेछु । ’


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।