

विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकामा उपमेयर पदमा उठाएकी शिल्पा निरला कार्की कोसी अस्पताल सञ्चालक समितिको सदस्य भएको खुलेको छ । केपी ओली नेतृत्वको सरकारले शिल्पा सहितका पदाधिकारी नियुक्त गरेको थियो ।
कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपछि मात्रै राजीनामा बुझाएकी छिन । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विराटनगरमा गठबन्धन तर्फका जसपाका उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले मंगलवार उजुरी गरेपछि उनले हतपत राजीनामा बुझाएकी हुन । कार्कीले मंगलवार राजीनामा पत्र बुझाएको कोसी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.यज्ञराज खरेलले बताए । उहाँले बुझाउनु भएको राजीनामा पत्र तोक लगाएर दर्ता समेत नगरी राखिएको उनले बताएका छन् ।
यता मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमराज बुढाथोकीले शिल्पा सहित ४ जनाको नाममा उजुरी परेको बताएका छन् । सरकारी लाभ पदमा रहेकाले उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको छ ।