मनोनयन दर्ता शुरू भइसक्दा पनि प्रदेश १ मा कांग्रेसले छान्न सकेन उम्मेदवार

विराटनगर । आगामि स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता शुरू भइसक्दा समेत प्रदेश नम्बर १ मा भने सत्ता गठबन्धन दलहरूले उमेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।

आयोगले आइतवार र सोमबारकालागि उम्मेदवारी मनोनयन दर्ताको समय तोकेको छ । नेपाली कांग्रेसले आइतवार बिहानसम्म पनि प्रदेश १ का अधिकांश स्थानीय तहमा उमेदवार तय गर्न सकेको छैन ।

ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा, धनकुटा र तेह्रथुम जिल्लाका १४ स्थानीय तहमा मात्र उम्मेदवारको अन्तिम निर्णय भएको नेपाली कांग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीले बताए । पहाडी छ जिल्लामा उमेदवार तय गर्ने काम भइरहेका उनले जानकारी दिए ।

उम्मेदवार बन्नेहरूको नाम पार्टीको पालिकास्तर हुँदै जिल्ला र प्रदेशसम्म सिफारिश गर्नुपर्ने व्यवस्था रहेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय समितिले महानगर र उपमहानगरमा उठ्ने मेयरउपमेयरको उम्मेदवारको टुङ्गो लगाउँछ भने नगरपालिका र गाउँपालिकाको प्रदेशले निर्णय लिनेछ । प्रदेश १ मा १ सय ३७ स्थानीय तह छन् ।

कांग्रेस प्रदेश समितिले राजनीतिक रूपले महत्त्वपूर्ण मानिएका झापा, मोरङ र सुनसरीका अधिकांश स्थानीय तहमा उम्मेदवार छान्न सकेको छैन ।

गठबन्धनका कारण आन्तरिक असन्तुष्टि सम्बोधन गर्न पनि कांग्रेसलाई मुस्किल परेको छ ।

आइतबार, ११ बैशाख, २०७९, दिउँसोको १२:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर