विराटनगर । प्रदेश १ का पहाडी जिल्लामा सत्तारुढ गठबन्धनका जिल्लास्थित समितिहरुले आगामी चुनावमा मोर्चाबन्दी गर्ने निर्णय धमाधम गरिरहेका छन् ।

एक साताअघि धनकुटा जिल्लामा वडा तहसम्मै तालमेल गर्ने निर्णय गरेका गठबन्धनका दलहरुले मंगलबार तेह्रथुम जिल्लामा पनि त्यस्तै निर्णय गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र मञ्चसम्बद्ध लिम्बुवान पार्टी नेपालले जिल्ला तहमा तालमेल गर्ने निर्णय गरेर सामूहिक घोषणा गरेका हुन् । लिम्बुवान पार्टी धनकुटामा भने गठबन्धनमा सामेल छैन । तर, तेह्रथुममा उसले सत्ता गठबन्धनलाई सघाउने घोषणा गरेको हो ।

नेकपा एमाले इतरका दलहरुले जिल्लाको स्थानीय तहको निर्वाचनमा वडासम्मै तालमेल गर्ने निर्णय गरेका हुन् । यसका लागि उनीहरुले पार्टीको माथिल्लो तहको निर्देशन र निर्णय कुरेनन् ।

‘एमाले नेतृत्वको सरकारले विगतमा संविधानमाथि र व्यवस्थामाथि निरन्तर प्रहार गर्दा हामी एकै ठाउँ उभिएर प्रतिगमन परास्त गरेका थियौं,’ नेपाली काँग्रेस तेह्रथुमका सभापति अर्जुन तुम्वाहाम्फेले भने ‘यो व्यवस्थाको रक्षा र सुरक्षाका लागि हामीले जिल्लामा हिजोका सहयात्री दलहरुसँग तालमेल गर्ने निर्णय गरेका हौं ।’

तेह्रथुममा दुई नगरपालिका र चार गाउँपालिकासहित ६ वटा स्थानीय तह छन् । त्यसमध्ये लालीगुराँस नगरपालिकामा २०७४ को निर्वाचन काँग्रेसले जितेको थियो । म्याङलुङ नगरपालिकासहित आठराई गाउँपालिका, छथर, फेदाप र मेन्छ्यायेम गाउँपालिका एमालेले जितेको थियो । यी सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय भएको दलहरुले मंगलबार जनाएका छन् ।

तेह्रथुममा तालमेल गर्ने निर्णयमा काँग्रेस जिल्ला सभापति तुम्बाहाम्फेसहित माओवादी केन्द्रका संयोजक इन्द्रबहादु्र इम्सङ, एकीकृत समाजवादीका अध्यक्ष कृष्ण चोङबाङ, जसपाका अध्यक्ष भगवान रिजाल र लिम्बुवानका विजय निलेकुले संयुक्त हस्ताक्षर गरेका छन् । स्थानीय आवश्यकता बुझेर यस्तो निर्णय भएका कारण पार्टीको माथिल्लो कमिटीहरुले यसमा हस्तक्षेप नगर्ने दलहरुले जनाएका छन् ।

प्रदेश १ मा यसअघि नै धनकुटामा तालमेल गर्ने निर्णय भइसकेको थियो । अघिल्लो सोमबार उनीहरुले स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका हुन् ।
‘स्थानीय आवश्यकता अनुसार तालमेल गर्ने भन्ने लाइनमै केन्द्रले पनि निर्णय लिएको छ छ,’ थापाले भने ‘जिल्लाका साथीहरुले आवश्यकतामै आधारित भएर गर्नुभएको घोषणालाई हामीले नमान्ने कुरा हुँदैन ।’