विराटनगर । प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन एउटा विधेयक पारित गरेर अन्त्य भएको छ । प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन अन्त्य सम्बन्धी पत्र पढेर सुनाउँदै उपसभामुख सरस्वती पोखरेलले आइतबार राति १२ बजेदेखि लागुहुने गरी अधिवेशन अन्त्य गरेको घोषणा गरिन् ।
असोज २२ गते सुरु भएको नवौं तथा हिउँदे अधिवेशनले आठौं अधिवेशनमा प्रदेशसभामा दर्ता भई छलफलमा रहेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक पारित गरेको थियो । यस अधिवेशनमा सरकारले प्रदेश मिडिया व्यवस्थापन सम्बन्धी विधेयक टेबल गराएको थियो । विधेयक सैद्धान्तिक छलफलकै क्रममा छ ।
दलका नेताहरुको शुभकामना मन्तव्यसहित असोज २२ गते सुरु भएको नवौं तथा हिउँदे अधिवेशनमा १२ वटा बैठक चलेको थियो । बैठकमा ९ घण्टा ४२ मिनेट छलफल भएको थियो । बैठकको शून्य समयमा ३१ जना सांसदहरुले बोलेका थिए भने पाँच जना सांसदहरुले विशेष समय लिएर बोलेका थिए । हिउँदे अधिवेशनकै क्रममा मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।
सरकारले प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनबाटै प्रदेश नामकरण सम्भव नहुने भन्दै आएको थियो । यद्यपि नामकरणका लागि दलहरुबीच छलफल चलाउने प्रतिवद्धता गरेको सरकारले यस अवधिमा एउटा छलफलबाहेक थप प्रगति गरेन । प्रदेशसभाका सभामुखले पनि नामकरणका सम्बन्धमा कुनै उल्लेख्य पहल गरेनन् ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।